व्यापारी र बिचौलियाहरूसँग मिलेर प्रहरी संगठनको बद्नाम गर्ने वरिष्ठ सई निलम्बित
जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्शेर जबरालाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गरेर मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका सहायक प्रवक्ता एवम् प्रहरी उपरीक्षक भेषराज रिजालले वरिष्ठ सई जबरालाई निलम्बन प्रक्रियामा अगाडि बढाएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागरशम्शेर जबराले आफ्नै कार्यालय प्रमुख तथा प्रहरी संगठनलाई नै बदनाम गराउने उद्धेश्यले अमुक व्यापारीलाई आफैले फोन गरी बनावटी कथा रचेर अडियो बनाई सार्वजनिक मिडियामार्फत प्रसारण गर्न लगाएको हुँदा त्यस्ता कानून विपरीतका सामाग्री बनाई नेपाल प्रहरी संगठनलाई नै बदनाम गर्ने उद्धेश्यले प्रहरी आचरण बिपरीत कार्य गरेको हुँदा निजलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम निलम्बन गर्न प्रकृया अगाडि बढाई सकिएको र यस कार्यालयबाट समेत आवश्यक अनुसन्धान र छानविन कार्य भई रहेकोले यस सम्बन्धमा सत्य तथ्य विवरण पछि जानकारी हुने नै छ ।’
‘तसर्थः यस प्रकारका भ्रामक र तथ्यहीन सूचनाका पछि नलाग्न र विश्वास नगर्न आम संचार माध्यम तथा नागरिकमा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम, धनुषा हार्दिक अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय, धनुषामा कार्यरत वरिष्ठ सई र एक व्यापारीबीच लेनदेन लगायतका विविध विषयमा टेलिफोनमा कुराकानी भएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । त्यस अडियोले प्रहरी संगठन र प्रहरी कर्मचारीहरूको बद्नाम गराउने प्रयास भएपछि मधेश प्रदेश प्रहरीले वरिष्ठ सई जबरालाई निलम्बन गरेर अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया