सडक सञ्जालमा जोडियो हिमाली जिल्ला मनाङको नाचै गाउँ, कांग्रेस सांसद गुरुङद्वारा उद्घाटन
चामे । हिमाली जिल्ला मनाङको नाचै गाउँ सडक सञ्जालले जोडिएको छ । मनाङको नासोँ गाउँपालिका वडा नं. २ मा रहेको नाचै गाउँमा मोटरबाटो पुगेसँगै स्थानीय हर्षित भएका हुन् ।
नयाँ ट्रयाक खोलेर निर्माण गरिएको उक्त सडकको सोमबार औपचारिक कार्यक्रम गरी मनाङबाट निर्वाचित प्रतिनिधि सभाका सांसद एवम् पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले सडकको विशेष कार्यक्रमबा बीच उद्घाटन गरेका छन् । नाचै गाउँमा पनि सडक पुगेपछि नासोँ गाउँपालिकाका सबै वडाहरू सडकमा जोडिएका छन् ।
सडक उद्घाटनपछि बोल्दै नेपाली कांग्रेसका नेता एवम् सांसद गुरुङले मनाङको मुख्य आवश्यकता भनेकै अहिले सबै स्थानमा मोटरेवल सडक पुर्याउनु रहेको बताए । उनले भने, ‘भौगोलिक विकटता र जटिलतासँगै मोटर चल्न सक्ने सडक नहुँदा जिल्लाको अन्य विकास निर्माण र समृद्धिका धेरै पक्षमा असर परेको छ ।’
सांसद गुरुङले भने, ‘सबैभन्दा पहिला व्यवस्थित सडक निर्माणको कामलाई प्राथमिकतामा राखेको छु, मनाङका बस्तीसँगै जिल्ला प्रवेश गर्ने एकमात्र बेसीशहर–चामे सडक अझ मेरो प्राथमिकतामा छ ।’
मनाङका सडक स्तरोन्नति गरी १२ महिना यातायात सञ्चालन गर्नसके कृषि, पर्यटनसँगै जिल्लाका अन्य क्षेत्रको विकास तथा प्रवर्द्धनमा सहयोग पुग्ने सांसद गुरुङले बताए ।
दुर्गम क्षेत्रको विकासका लागि सडक पूर्वाधार अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै सांसद गुरुङले व्यवस्थित सडकले स्थानीयको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
कार्यक्रममा मनाङका पूर्व सांसद पोल्देन छोपाङ गुरुङ, गण्डकी प्रदेश सभासदस्य मुनिन्द्र गुरुङ, नासोँ गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ लगायत स्थानीय जनप्रतिनिधि, लालुपाते हाईड्रोका प्रतिनिधि एवं स्थानीयको सहभागिता रहेको थियो ।
सांसद गुरुङको पहलमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारसँगै सोही स्थानमा निर्माणाधीन लालुपाते जलविद्युत् आयोजनाको सहयोगमा सो सडक निर्माण गरिएको हो ।
मर्स्याङ्दी नदी किनारमा रहेको चट्टानसहितको भीरमा नयाँ ट्रयाक खोल्नेदेखि हाल यातायात सञ्चालन गर्ने अवस्थासम्ममा चार दशमलव चार किलोमिटर सडक निर्माणका लागि १६ करोड बढि रकम खर्च भएको छ ।
मनाङमा रहेका चारवटा स्थानीय तहमध्ये नार्पाभूमि बाहेक सडक सञ्जालले नजोडिएको गाउँ नाचै मात्र रहेको थियो । यातायात पहुँचबाट टाढा रहेको नाचै गाउँमा सडक निर्माण भएसँगै स्थानीयवासीमा उत्साह छाएको छ ।
यसअघि पैदल हिडेर यात्रा गर्नुपर्ने स्थानीय ढुवानीका लागि भने खच्चरको प्रयोग गर्दै आएका थिए । अब भने यात्रा तथा सामान ढुवानीका लागि पनि सवारी साधन प्रयोग गर्न पाउने भएका छन् ।
सडक सञ्चालनमा आएसँगै नाचै गाउँका बासिन्दाले दैनिक उपभोग्य वस्तु ढुवानी, स्वास्थ्य सेवा पहुँच, तथा शैक्षिक गतिविधिमा सहजता आउने अपेक्षा गरेका छन् ।
विशेष गरी बिरामी तथा ज्येष्ठ नागरिकलाई राहत पुग्नुको साथै कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन सहज हुने र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने स्थानीयले अपेक्षा गरेका छन् ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया