म यस विषयमा पार्टीले गर्ने निर्णयको पालना गर्नेछु, अनुसन्धानमा सहयोग गर्छु : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्ला दिनमा आफ्नो नाम जोडेर विभिन्न चर्चा भइरहेको भन्दै आफूविरुद्ध आएका समाचारहरूको खण्डन गरेका छन् ।

सोमबार गृहमन्त्री गुरुङले विज्ञप्ति जारी गरेर भने, ‘विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु । स्पष्ट कुरा, हल्ला धेरै छन् । तथ्य के हो भन्ने बुझ्न जरुरी छ,’ उनले भने ।

‘२५ लाखको सेयर लुकाइएको भनिएको छ । वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन् । मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ,’ गुरुङले भने ।

‘स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो । यो लुकाउने होइन, वर्गीकरणको विषय हो,’ उनले भने ।

‘सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन,’ उनले भने, ‘मन्त्री हुनुअघि सेयर किनियो भनिएको छ । यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ ।’

‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ,’ गृहमन्त्री गुरुङले भने, ‘यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?’

उनले भने, ‘अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो । त्यसको लिखित तमसुक मिति २०८०÷०५÷२९ को हो, जुन रेकर्डमा नै छ ।’

‘तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो,’ उनले भने, ‘अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो ।’

‘विवादित व्यक्तिसँग साझेदारी भनिएको छ । एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुन्छन् । सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन,’ उनले भने, ‘यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन । त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन् । के ती सबै साझेदार वा दोषी हुन् त ?’

गृहमन्त्री गुरुङले भने, ‘प्रश्न सरल छ, सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु ? कनफ्लिक्ट अफ इन्ट्रेस्टको आरोप पनि उठाइएको छ । यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण विभाग हो । सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको छ ।’

‘यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन,’ उनले भने, ‘यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन ।’

‘पृष्ठभूमि नजाँची लगानी भन्ने कुरा पनि उठाइएको छ । व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन । हरेक लगानीमा जोखिम हुन्छ,’ उनले भने ।

‘पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु, यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो,’ उनले भने, ‘प्रतिक्रिया नदिनुलाई पनि प्रश्न बनाइएको छ । कानूनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त हुँदैन ।’

गृहमन्त्री गुरुङले भने, ‘हल्ला छिटो फैलिन्छ । सत्य प्रमाणसहित मात्र आउँछ । पार्टीको नारा र व्यवहार फरक भयो भन्ने टिप्पणी पनि गरिएको छ । व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन । लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ । सत्य त्यति सरल हुँदैन ।’

‘म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन् । निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,’ उनले भने, ‘तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।’

‘शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन,’ गृहमन्त्री गुरुङले भनेका छन् ।

Published : Monday, 2026 April 20, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया