कांग्रेस एकढिक्का बनाउन सानेपा सम्वेदनशील हुनुपर्छ, भित्तामा निवेदन दर्ता हुँदैन : कुन्दनराज काफ्ले
काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले पार्टीलाई एकढिक्का बनाएर लैजान सानेपाको नयाँ नेतृत्व जिम्मेवार र सम्वेदनशील हुनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंको धुम्बाराहीमा निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै निवर्तमान केन्द्रीय सदस्य काफ्लेले सानेपाको भित्तामा गएर निवेदन दर्ता गराएर केही नहुने बताए । उनले नयाँ नेतृत्वले मेकानिजम बनाए सम्वाद, सहमति र सहकार्य गर्नुपर्ने बताए ।
नेता काफ्लेले भने, ‘त्यो अध्ययन गर्ने कुरामा सानेपा जिम्मेवार हुनुपर्छ । एकजना पार्टी सभापति उहाँ (गगनकुमार थापा) हुनुभयो । हिजो अर्कै हुनुहुन्थ्यो । भोलि अर्कै हुनुहुन्छ । त्यो विषय ठूलो कुरा होइन ।’
‘पार्टीको मेकानिजम ओपन राख्नु पर्छ । सानेपाको भित्तामा गएर कराएर, निवेदन दर्ता गरेर त हुनेवाला केही छैन,’ नेता काफ्लेले भने, ‘त्यसलाई हाम्रो आधारभूतरुपले हाम्रा विषयहरू, उठेका कुराहरू, त्यो त हाम्रो एउटै पार्टी त हो । एउटा एजेण्डामा फरक भएको हो । त्यही हिसाबले अगाडि बढ्नुपर्छ ।’
उनले भने, ‘नमिल्नुपर्ने त कारण नै छैन । जिम्मेवार सानेपा हुनुपर्छ । हामी यतिले त पुगेको छैनौं भन्दै छौँ भने घटाएर त के काम ? स्वाभिमानको कुरा हो । हामीभित्रका धेरै कुराहरू मिलाएर अगाडि बढ्नुपर्छ ।’
नेता काफ्लेले कांग्रेसमा एकता हुनुपर्ने भन्दै एकढिक्का भएर कांग्रेस अगाडि बढ्नुपर्ने समय आएको बताए । ‘एकढिक्का बन्नको लागि सबैको आत्मबलका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने ।
‘अहिले क्रियाशील सदस्य बढि र भोट कम भएको ठाउँमा किन कांग्रेसको क्रियाशील सदस्य रिसाए ? भन्ने नै हाम्रो मूलभुत पहिलो एजेन्डा बनाएर जानुपर्छ,’ उनले भने ।
‘उहाँ (गगनकुमार थापा)हरू रिसाएको व्यक्तिलाई हटाउँदै लाने भन्दा पनि हामीलाई आफैमा त मत पुगेको छैन त्यही भएर रिसाएका मान्छेहरूलाई जोड्दै र नपुगेका ठाउँमा हाम्रा एजेन्डाको अपेक्षा के छ ? हाम्रो बिगतमा कामीकमजोरी के भयो ? हाम्रो दृष्टीकोण कहाँ पुगेन ? जनताका आधारभूत कुराहरूमा, जनता हामीसँग किन रिसाए ? किन कांग्रेसलाई पहिलो दल बनाउन खोजेनन् ? सानो दल बनाउन किन खोजे ? भन्ने विषयमा अध्ययन गरेर अगाडि बढ्नुपर्छ । त्यो अध्ययन गर्ने कुरामा सानेपा जिम्मेवार हुनुपर्छ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया