पुरानो क्रियाशील खारेज हुँदैन, अध्यावधि नभए महाधिवेशन प्रक्रियामा भाग लिन पाइने छैन : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बागमती प्रदेशका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले क्रियाशील सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए । उनले एक पटक डिजिटल रेकर्ड भएपछि नवीकरणमा सहजता पुग्ने बताएका छन् ।

सदस्यता डिजिटल अद्यावधिक गर्न लागिए पनि पुरानो खारेज नहुने भन्दै महामन्त्री पौडेलले यसमा अलमलमा नपर्न आग्रह गरेका छन् ।

उनले भने, ‘पुरानो क्रियाशील खारेज होइन, अद्यावधिक गर्न लागिएको हो । यसमा कोही अलमलमा नपरौं ।’

महामन्त्री पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेको भन्दै पार्टी सर्कुलर गर्न, आम सदस्यको राय लिन तथा पार्टीका गतिविधि बारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताए ।

महामन्त्री पौडेलले सदस्यताका लागि वडामा नै जानुपर्ने व्यवस्था गरिएको भन्दै सदस्यलाई आफ्नै टोलमा फर्काउन र चिनारी बढाउन वडामै जानु पर्ने व्यवस्था गरिएको बताए ।

कुनै विशेष कारण वडामा जान नसक्नेकाको हकमा के गर्ने भन्ने विषय छलफलमार्फत टुङ्ग्याइने महामन्त्री पौडेलले बताएका छन् ।

कांग्रेसले जिल्ला सभापतिमार्फत सबै वडामा सदस्यताको फारम पठाउनेछ । वडा सभापतिमार्फत अन्य क्रियाशील अद्यावधिक हुने तथा नवीकरण गरिसकेका सदस्यहरूको वडा सभापतिले सदर गरेर इन्ट्री गरेपछि वैध मानिने व्यवस्था मिलाइएको छ ।

सदस्यता नवीकरण नभएकाले नयाँ फर्म भर्न सकिने भए पनि अद्यावधिक नभएमा आगामी महाधिवेशनसम्बन्धी प्रक्रियामा भाग लिन पाइने छैन ।

Published : Sunday, 2026 April 19, 3:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया