करोडौं भ्रष्टाचारमा मुछिएका तिवारीविरुद्ध अख्तियारद्वारा दोस्रो मुद्दा दर्ता, शाखा अधिकृत पनि परे
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त डा.भाइकाजी तिवारीसहित दुई जनाविरुद्ध भ्रष्टाचारको दोस्रो मुद्दा दायर गरेको छ ।
शुक्रबार अख्तियारले तिवारी र यामकुमार कार्कीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारविरुद्धको अभियोग पत्र दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । तिवारीविरुद्ध अख्तियारले गलत लिखतसम्बन्धी कसूर समेत जोडेर भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सरकारी/सार्वजनिक संस्थाको लिखत, लेटरप्याड, छापलगायत दुरुपयोग गरी बदनियत राखेर प्रयोगमा ल्याई भ्रष्टाचार गरेको छ ।’
प्राधिकरणका तत्कालीन शाखा अधिकृत (करार) यामकुमार कार्कीलाई समेत प्रतिवादी बनाइएको छ । मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवाना सजाय मागदाबी गरिएको छ ।
‘भाइकाजी तिवारी र यामकुमार कार्कीको आपसी मिलेमतो तथा योजनामा प्रतिवादी यामकुमार कार्कीको यस आयोगमा अनुसन्धानमा रहेको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी कसूरको सम्बन्धमा आय वृद्धि भएको देखाई अनुसन्धान गर्ने निकाय एवं अनुसन्धान अधिकृतलाई भ्रममा पारी भ्रष्टाचारजन्य कसुरबाट उन्मुक्ति लिने प्रयोजन समेतको लागि सरकारी/सार्वजनिक संस्थाको लिखत/लेटरप्याड, छाप लगायतको दुरुपयोग गरी/गराई बदनियत राखी तयार गरे गराएको गलत लिखत प्रयोग/प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको छ,’ अख्तियारले भनेको छ ।
यसअघि तिवारीले १० करोड बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै बिहीबार भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया