काठमाडौंकी कार्यबाहक नगरप्रमुख डङ्गोल र आईजीपी कार्कीबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेट भएको छ ।

बिहीबार काठमाडौं कार्यबाहक नगरप्रमुख डङ्गोल र आईजीपी कार्कीबीच भएको भेटमा सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौं महानगरपालिका र नेपाल प्रहरीसँगको सहकार्यका विषयमा छलफल भएको छ ।

कार्यबाहक नगरप्रमुख डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्द्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, शहरी व्यवस्थापन, शहरलाई सडक मानवमुक्त बनाउने अभियान लगायतका काममा नेपाल प्रहरीसँग सहकार्य गर्न चाहेको आईजीपी कार्कीसँग बताएकी छिन् ।

आईजीपी कार्कीले काठमाडौं महानगरपालिकालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताएका छन् । उनले उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुने बताए । आईजीपी कार्कीले सचेतनामूलक कार्यक्रमबाट नागरिक सहभागिता र प्रविधिको प्रयोग बढाएर जनशक्ति कम र नतिजा धेरै आउने प्रणाली विकास गर्न काठमाडौं महानगरपालिकाबाट सहयोग अपेक्षा गरेको बताएका छन् ।

कार्यबाहक नगरप्रमुख डङ्गोल र आईजीपी कार्कीबीच लागुऔषधको दुर्व्यसन नियन्त्रण, सार्वजनिकस्थलमा धुमपान र मद्यपान नियन्त्रण, पार्किङ्ग व्यवस्थापन, सडक संकेत र ट्राफिक व्यवस्थापन, रात्रि बस र विहानी बस सेवाको सुरक्षा, सडक मानव मुक्त काठमाडौं कार्यक्रमअन्तर्गत सञ्चालन हुने सडक सेवामा नेपाल प्रहरीको सहभागितालगायत विषयमा पनि छलफल भएको छ ।

Published : Thursday, 2026 April 16, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया