लुम्बिनी सरकारका तत्कालीन सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेश सरकारका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार अख्तियारले विशेष अदालत, काठमाडौंमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५, सिद्धनाथमा निर्माणाधीन शीतभण्डार परियोजनामा अनियमितता गरेको अभियोगमा अधिकारीविरुद्ध मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अधिकारी लुम्बिनी प्रदेश सरकारको तत्कालीन समयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव थिए । अधिकारीसहित १६ जना र एक निजी कम्पनीविरुद्ध अख्तियार आरोपपत्र दायर गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ अन्तर्गत सञ्चालन गरिएको शीतभण्डार निर्माण अनुदान कार्यक्रममा गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी रकम भुक्तानी लिएको अख्तियारले जनाएको छ ।

कूल लागत ५ करोड ४३ लाख ७९ हजार ९३९ रूपियाँ रहेको उक्त परियोजनामा मन्त्रालयले ७५ प्रतिशत (४ करोड ७ लाख ८४ हजार ९५४ रूपियाँ) र सहकारी संस्थाहरूले २५ प्रतिशत (१ करोड ३५ लाख ९४ हजार ९८४ रूपियाँ) व्यहोर्ने गरी सम्झौता भएको थियो ।

अनुसन्धानका क्रममा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि परामर्श तथा नापजाँचको काम मेगा माइन्ड्स आर्किटेक्ट्स एण्ड स्ट्रक्चर प्रालिले गरेको र सोही संस्थाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी मूल्यांकनसमेत गरेको छ ।

तत्कालीन सचिव अधिकारी, मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल, सह–लेखापाल अजय मिश्र, सम्बन्धित कम्पनी र त्यसका सञ्चालक सुगम कोइराला तथा विभिन्न सहकारी संस्थाका पदाधिकारीविरुद्ध समान बिगो ७१ लाख ९७ हजार ९८० रूपियाँ ६ पैसा कायम गरी मुद्दा दायर गरिएको छ ।

Published : Wednesday, 2026 April 15, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया