आफूलाई रूपान्तरण गर्दै र नयाँ पुस्तालाई समेट्दै अघि बढ्नु कांग्रेसका लागि अपरिहार्य छ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता डा.कोइरालाले भने, ‘बितेको वर्षले नेपालको राजनीतिमा नयाँ मोड ल्याएको छ । विशेषगरी युवापुस्ताको सक्रियता, चेतना र सहभागिताले राजनीतिलाई नयाँ दिशा दिएको छ ।’

‘सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको युवाहरूको आवाज अब केवल विरोधमा मात्र सीमित नभई नेतृत्व र उत्तरदायित्वतर्फ उन्मुख भएको छ,’ उनले भने ।

‘यस परिवर्तित परिवेशमा सरकारप्रति जनताको अपेक्षा अझ बढेको छ,’ डा.कोइरालाले भने, ‘जनताले अब परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्व चाहेका छन् ।’

नेता डा.कोइरालाले भने, ‘काम गर्ने, देखिने र अनुभव हुने सरकारको आवश्यकता आज झनै तीव्र भएको छ । सुशासन र विकासबीच सन्तुलन कायम गर्दै देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनु सरकारको प्रमुख दायित्व हो ।’

‘लोकतन्त्रका लागि लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित नेपाली कांग्रेस आज पनि राष्ट्रिय राजनीतिको महत्वपूर्ण शक्ति हो,’ उनले भने ।

‘बदलिँदो समयअनुसार आफूलाई रूपान्तरण गर्दै र नयाँ पुस्तालाई समेट्दै अघि बढ्नु कांग्रेसका लागि अपरिहार्य बनेको छ,’ डा.कोइरालाले भने ।

‘आफ्ना मूल्य, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकताबद्ध भएर अघि बढ्न सकेमा कांग्रेसले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्छ,’ उनले भने ।

‘राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यको मार्ग पनि यही हो,’ उनले भने, ‘नयाँ वर्षले हामी सबैमा सकारात्मक सोंच, नवीन ऊर्जा र एकताको भावना ल्याओस् । साझा प्रयासबाट समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माण गर्ने दृढ संकल्पका साथ अघि बढ्न सकियोस् ।’

‘यस नयाँ वर्षले तपाईं हामी सबैका सपना, आकांक्षा र लक्ष्यहरू पूरा गर्ने नयाँ अवसरहरू सिर्जना गरोस्,’ कांग्रेस नेता डा.कोइरालाले भनेका छन् ।

Published : Tuesday, 2026 April 14, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया