गौरवशाली प्रहरी संगठनका सदस्यहरूको त्याग, अनुशासन र साहसिक योगदानप्रति नमन : आईजीपी कार्की
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नयाँ वर्ष २०८३ को पावन अवसरमा हार्दिक शुभकामना दिएका छन् ।
मंगलबार शुभकामना सन्देश जारी गर्दै आईजीपी कार्कीले भने, ‘नयाँ वर्ष २०८३ सालको पावन अवसरमा बहालवाला प्रहरी कर्मचारीहरू र वहाँहरूको परिवारजन, समादरणीय अवकाशप्राप्त प्रहरी कर्मचारीहरू, कर्तव्य निर्वाह गर्ने क्रममा अंगभंग तथा घाइते हुनुभएका साहसी प्रहरी कर्मचारीहरू र सदा पूजनीय अमर प्रहरीका श्रद्धेय परिवारजनहरुमा सुख र शान्तिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
उनले भने, ‘देशमा शान्ति, सुव्यवस्था र सुरक्षा बहाल राख्न प्रहरी कर्मचारीहरूले आफ्नो पसिना र रगतसँगै आवश्यक पर्दा लोकहितका निमित्त आफ्नो प्राण पनि उत्सर्ग गरेका छन् ।’
‘यस गौरवशाली संगठनका सदस्यहरूको त्याग, अनुशासन र साहसिक योगदानको स्मरण गर्दै समस्त सत्कर्मशील सदस्यहरूमा नमन गर्दछु,’ आईजीपी कार्कीले भने, ‘सकल दर्जाका प्रहरी कर्मचारीहरूको समर्पण, व्यावसायिक निष्ठा, वीरता र धीरता नै नेपाल प्रहरीलाई अझ सक्षम, व्यावसायिक, जनमुखी र जनप्रिय बनाउने महत्वपूर्ण आधार रहेको यहाँहरूलाई स्मरण गराउन चाहन्छु ।’
‘नव वर्षको प्रथम बिहानीले हामीलाई प्रत्येक अस्त पछि नयाँ उदय निश्चित रहेको शिक्षा दिंदै विगतका अनुभवहरूबाट शिक्षा लिंदै नयाँ सुरुवात गर्न पनि प्रेरित गर्दछ,’ उनले भने ।
‘सुशासन, पारदर्शिता, अनियमितता र भ्रष्टाचारमुक्त सुरक्षित र समृद्ध राष्ट्र निर्माणप्रतिको जन अपेक्षालाई गम्भीरताका साथ आत्मसात् गर्दै आम नागरिकको अपेक्षा अनुरूप आफनो बोली बचन, व्यवहार र कार्यशैलीमा सकारात्मक रूपान्तरण ल्याउन पनि निर्देशित गर्दछु,’ आईजीपी कार्कीले भने ।
‘शीघ्र, प्रभावकारी तथा नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्दै संगठनको गरिमा र मर्यादालाई नयाँ उचाइँमा पु¥याउन हामी एकबद्ध भई अघि बढनको लागि संकल्पित हुने प्रण गर्न पनि निर्देशन दिन चाहन्छु,’ आईजीपी कार्कीले भने ।
‘नयाँ वर्षसँगै हामी सबै नेपालीको घरआँगन र जीवनमा नयाँ उर्जा, उत्साह र उमङ्ग, सिर्जनशीलताका साथ सकारात्मक परिवर्तन आउने विश्वासका साथ यहाँहरू सबैको व्यावसायिक र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु,’ कार्कीले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया