बागमती सरकार मौलिक परम्परा र संस्कृतिहरूको संरक्षण गर्दै समृद्धितर्फ छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नव वर्ष २०८३ को शुभकामना दिएका छन् ।

मंगलबार मुख्यमन्त्री बानियाँले शुभकामना सन्देश जारी गरेर भनेका छन्, ‘आज वैशाख १ गते, नयाँ वर्ष २०८३ साल प्रारम्भको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरू तथा बागमती प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिएको सुन्दर देश हो,’ बानियाँले भने, ‘अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नै हाम्रो साझा पहिचान हो ।’

मुख्यमन्त्री बानियाँले भने, ‘नव वर्षको यस सुरुवातले हामी नेपालीबीच बन्धुत्व, एकता र आपसी सद्भाव कायम राख्न थप मद्दत पु¥याउनेछ भन्ने विश्वास लिएको छु ।’

‘बागमती प्रदेश सरकार हाम्रा मौलिक परम्परा र संस्कृतिहरूको संरक्षण गर्दै समृद्ध प्रदेश निर्माणको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित छ,’ उनले भने, ‘गरिबमुखी, सेवामुखी, न्यायमुखी, आयमुखी, विकासमुखी र जनमुखी लक्ष्य सहित नेपालको संविधानले परिकल्पना गरेको संघीयताको कार्यान्वयनमा तीनै तहका सरकार सञ्चालनमा आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम गर्दै अगाडि बढ्न अग्रसर छ ।’

मुख्यमन्त्री बानियाँले भने, ‘भ्रष्टाचारमुक्त–सुशासनयुक्त, जवाफदेही, उत्तरदायी र जिम्मेवार बागमती प्रदेश सरकारले हामीबीचको सामाजिक सद्भाव कायम गर्दै जनअपेक्षा अनुरूप नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न हामी सबै नेपाली एकताबद्ध भई अघि बढून प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा राख्दै समस्त प्रदेश, देश र विदेशवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः नव वर्ष २०८३ साल सुख, शान्ति, समृद्धि, खुसी र सु–स्वास्थ्यको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

Published : Tuesday, 2026 April 14, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया