सामाजिक रोगको रुपमा झाँगिएको भ्रष्टाचारको अन्त्य गर्नैपर्ने बाध्यता छ : महामन्त्री राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले राष्ट्रिय एकताको प्रतीकमा एकाग्र भएर सबै नेपाली र विशेष गरेर नवयुवा पुस्ताको हितमा सार्थक प्रतिफल नव वर्ष २०८३ मा प्राप्त गर्नुपर्ने भन्दै शुभकामना दिएका छन् ।

नयाँ वर्षको अवसरमा जारी शुभकामना सन्देशमा राष्ट्रवादी नेता राणाले भने, ‘पृथ्वीपथको जगमा र स्वदेश नै स्वर्ग भन्ने आदर्शअनुकूल नयाँ वर्ष राष्ट्रिय एकता, आर्थिक विकास र नवप्रवर्तनको कोशेढुङ्गा बनोस् भन्ने कामना गर्दछु ।’

राणाले भने, ‘निर्वाचन २०८२ पछिका दिनहरूमा जनस्तरमा नयाँ आशा पलाएको छ । सरकारको तर्फबाट आशाप्रद केही प्रयासहरू अघि बढेका छन् ।’

‘निश्चितरुपमा सामाजिक रोगको रुपमा झाँगिएको भ्रष्टाचारको अन्त्य गर्नैपर्ने बाध्यता छ,’ महामन्त्री राणाले भने, ‘रोजगारको सिर्जना, महँगी र वैदेशिक ऋणभारको बढ्दो चुनौति कायमै छ ।’

राजनीतिक क्षितिजमा देखिएका आशाको किरणका बाबजुद राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध एवम् कुटनीतिको क्षेत्रमा धेरै काम हुन बाँकी नै रहेको उनले बताए ।

नव वर्ष २०८३ को अवसरमा देशविदेश रहने सबै नेपालीजनलाई शुभकामना दिँदै राणाले देश र समाजमा शान्ति, स्थायित्व र समृद्धि कायम होस्, भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित होस् भन्ने कामना गरेका छन् ।

Published : Tuesday, 2026 April 14, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया