विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको रेकर्ड सार्वजनिक गर्न माग, सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका प्रत्यक्ष र समानुपातिक सूचीमा रहेकामध्ये विदेशी पुरुषसँग विवाहित महिला उमेदवारको रेकर्ड सार्वजनिक गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
बुधबार सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार सुवालले रिट निवेदन दिएका हुन् । निर्वाचन आयोगले विवरण उपलब्ध नगराउँदा कतै उजुरबाजुर गर्न नसकिने अवस्था उत्पन्न भएको भन्दै सुवालले रिट दायर गरेका हुन् ।
रिटमा बिहीबारका निम्ति सर्वोच्चमा सुनुवाइको पेसी तय भएको अधिवक्ता सुवालले जानकारी दिएका छन् । कानूनअनुसार कसैले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको अवस्थामा उजुरी दिन सकिन्छ ।
निर्वाचन आयोगले विवरण उपलब्ध नगराउँदा सूचनाको अधिकारमाथि आघात पुगेको अधिवक्ता सुवालले रिटमा उल्लेख गरेका छन् ।
यसअघि निर्वाचन आयोगसँग रेकर्ड माग गर्दै अधिवक्ता सुवालले सूचनाको हकअन्तर्गत निवेदन दिएका थिए ।
विदेशी पुरुषसँग विवाह गरेका महिला उमेदवारको अभिलेख नरहेका कारण उनीहरूको अयोग्यताका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्नबाट सर्वसाधारण वञ्चित हुने अवस्था रहेको रिटमा उल्लेख छ ।
विदेशी पुरुषसँग महिला उमेदवारको विवाह भएको अवस्थामा उक्त विवरण, विवाह मिति, त्यस्तो पुरुषको नाम, ठेगानालगायत विवरण अविलम्ब सार्वजनिक नगरिए रिट निवेदनको औचित्य समाप्त हुन सक्ने भन्दै आयोगका नाममा तत्काल अन्तरिम आदेशको माग समेत गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया