दीपकद्वारा विशेष महाधिवेशन अस्वीकार, अनुशासनको कारबाही भएकाहरूलाई आममाफी दिन प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले महाधिवेशनलाई लिएर लोक हसाउँने कार्य नगर्न पदाधिकारी र नेताहरूसँग आग्रह गरेका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै नेता गिरीले १५औँ महाधिवेशन नियमित रुपमा गर्नेगरी मंसिर महिनाभित्र गर्न सुझाव दिएका छन् ।
उनले भने, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिका बारेमा विभिन्न चर्चा परिचर्चा भईरहेकाछन् । देशभरिबाट महाधिवेशन प्रतिनिधि साथीहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टीलाई निवेदन बुझाइ सक्नु भएको छ ।’
‘मुख्य कुरा हाम्रो पार्टीलाई कसरी एकजुट बनाउने भन्ने हो । अहिलेको संकटबाट कसरी बाहिर आउने, युवाहरुको आकांक्षा कसरी सम्बोधन गर्ने, युवा पंक्तिलाई कसरी पार्टीमा जोड्ने विषयमा छलफल गर्नु पर्ने कांग्रेस अधिवेशन मंसिर र वैशाख भनेर छलफलमा छ । यो लोक हसाउने काम नगरौं,’ उनले भने ।
‘त्यसैले महाधिवेशन प्रतिनिधि साथीहरूको भावनाको सम्मान गर्दै यो बैठकले मंसिर महिनाभित्रै नियमित १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नु पर्छ,’ गिरीले भने ।
‘उक्त महाधिवेशनबाट समय सुहाउँदो, युवाहरूको आकांक्षालाई समेत प्रतिनिधित्व गर्ने खालको नीति र कार्यक्रम पारित गर्नु पर्छ,’ उनले भने, ‘यही स्थितिमा चुनावमा गएर के भन्ने ? नसुध्रिएको कांग्रेसलाई जनताले किन भोट दिने ?’
‘हाम्रा कमी कमजोरीका लागि क्षमा माग्दै अब कांग्रेस नयाँ नेतृत्व, नीति र कार्यक्रम सहित जनताको घर दैलोमा जानु पर्छ,’ गिरीले भने, ‘यसै गरी हाम्रा सबै भ्रातृ संस्थाहरूमा समयमै अधिवेशन गराएर नयाँ नेतृत्व चयन गर्न पनि म सुझाव दिन चाहन्छु ।’
नेता गिरीले भने, ‘हामी एकताबद्ध हुनु पर्छ । एकताको विकल्प छैन । आगामी निर्वाचनको लागि कांग्रेसले नागरिकको चासो र खाँचोका मुद्दाहरू उठाउनु पर्छ भन्ने पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’
नेता गिरीले कांग्रेसले अनुशासनको कारबाही गरेका नेता तथा कार्यकर्ताहरूको कारबाही फुकुवा गरेर आममाफी दिन आग्रह गरेका छन् ।
उनले भने, ‘मैले केन्द्रीय समितिको बैठकमा यस विषयमा यस अघि पनि आफ्ना धारणा राखेको थिएँ । गत २०७९ सालमा नेपाली कांग्रेस र अन्य दलसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवारलाई अनुशासन समितिबाट कारबाहीको सिफारिस गरिनु उपयुक्त थिएन ।’
‘त्यसैले कारवाही गरिएका सबै साथीहरूलाई वर्तमान राजनैतिक परिस्थितिलाई मनन् गरी आम माफी दिन माग गर्दछु । र, विभिन्न समयमा कांग्रेसको मूलप्रवाहबाट बाहिरिएका सबैै साथीहरूलाई राष्ट्रको साझा भविष्य निर्माण गर्न कांग्रेसको मूलधारमा आउन पनि आग्रह गर्दछु,’ उनले भने ।
उनले भने, ‘मैले भन्दै आएको छु बिजनेस एज युजुएल गरेर अब न पार्टी चल्छ, न मुलुक चल्छ । कांग्रेस पार्टीको जुन बेला जनतासंग सम्बन्ध कमजोर हुन्छ, लोकतन्त्र पनि कमजोर हुन्छ । विगतका कैयौं संक्रमणकालमा कांग्रेसले नै नेतृत्व लिएर मुलुकलाई दिशानिर्देश गरेको थियो ।’
‘अहिले पनि कांग्रेसले पार्टीभित्र आमूल सुधार गरेर, आन्तरिक लोकतन्त्र सुनिस्चित गरेर, भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल निर्माण गर्ने युवाहरूको चाहना पुरा गर्न सक्ने नीति र कार्यक्रम ल्याएर जनताको बीचमा जान अब ढीला गर्नु हुँदैन । नयाँ नेपाल बनाउन नयाँ कांग्रेस बनाउनै पर्छ । अरु विकल्प छैन ।’
गिरीले भने, ‘इतिहाँसले देखाएको छ – वास्तविक र दिगो परिवर्तन तब मात्र सम्भव हुन्छ जब आधारभूत तहबाट सबल नेतृत्व जन्मन्छ । अहिलेको जस्तो माथिबाट थोपर्ने प्रक्रिया समाप्त गरी कुनै पनि बेला नेतृत्व तहमा रहने व्यक्ति तल्लो तह प्रति उत्तरदायी हुने प्रणाली बनाउनु पर्छ । पार्टीको पहुँच जनसमर्थन र निष्ठा अधिकांशतः गाउँ÷वडा÷नगर स्तरका कार्यकर्तामा हुन्छ । तसर्थ पार्टी सुधारको प्रयास हामीले गाउँ तथा नगर तहबाटै सुरु गर्नु पर्छ ।’
‘वडास्तरबाट सुरु गरी गाउँ÷नगर समिति पुनर्निर्माण, स्थानीयस्तरका सक्रिय, इमानदार र सक्षम कार्यकर्तालाई नेतृत्वमा ल्याउने, टिकट दिने प्रक्रिया स्थानीयस्तरमै खुला र पारदर्शी बनाउने । केन्द्रीय तहले सचेत मार्गदर्शन गरे तापनि निर्णायक अधिकार स्थानीय तहको हुनुपर्ने । भ्रष्टाचारलाई शून्यमा झार्ने, मेरो वा तेरो नभनीकन प्रमाणको आधारमा तुरुन्त निर्णय गर्ने परिपाटीको विकास गरिनु पर्छ,’ उनले सुझाव दिएका छन् ।
‘अब हामीले समानुपातिक निर्वाचन प्रणाली र प्रदेशहरूको पर्फमेन्सको पनि समिक्षा गर्नु पर्छ । विगतमा भएका कमीकमजोरी सुधार्ने प्रण गर्नु पर्छ, गल्तीका लागि माफी पनि पुग्नु पर्छ। अब विध्वंश हैन राष्ट्रिय पुनर्निर्माणमा जुट्नु पर्छ । त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नु पर्छ,’ गिरीले भने ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया