लागुऔषध ब्यूरोद्वारा झण्ड ६ किलो हेरोईनसहित ४ जनालाई पक्राउ, रंगेलीमा हवाई फायर

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर, काठमाडौंले ठूलो परिमाणमा लागुऔषध सेतो हेरोईनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार ब्यूरोका सहायक प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जीवन निरौलाले विज्ञप्ति जारी गरेर भारतीय नागरिक ६५ वर्षीय राकेश वाहाबलाई पक्राउ गरिएको जनाएका छन् ।

लागुऔषध सेतो हेरोईनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक राकेश हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेका थिए । क्रिमिनल प्रोफाईलिङ गर्ने क्रममा शनिबार राति ११ बजे थाई एयरवेजको फ्लाईट नं. टीजी ३०९ को उडानमार्फत राकेश बैंककबाट काठमाडौं आएका थिए ।

भारतीय नागरिक राकेशलाई उनले ल्याएको लगेजभित्र लुकाई राखिएको अवस्थामा ६ किलो ५ सय ग्राम सेतो हेरोईन बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, विशेष सूचनाको आधारमा लागुऔषध ब्यूरो र ईलाका प्रहरी कार्यालय, रंगेली, मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन २२ गते रंगेली नगरपालिका वडा नं. ८ बाट भारतीय नागरिक ४५ वर्षीया हसिना खातुन, मोरङको रंगेली– ८ का ३८ वर्षीय सुशीला बुढाथोकी र ५४ वर्षीय कृर्तानन्द ठाकुरसहित ३ जनालाई खैरो हेरोईन ४ सय ग्रामसहित पक्राउ गरिएको छ ।

लागुऔषध र मानिसहरूलाई नियन्त्रणमा लिने क्रममा १ राउण्ड गोली समेत चलाउनु परेको सहायक प्रवक्ता निरौलाले जनाएका छन् ।

उनीहरूलाई पक्राउ गरेर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2025 July 6, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया