भोजपुर हत्याको घटनाले हलचल

हेलौचा । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानी सामूहिक हत्या भएको अभियोगमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

आइतबार बिहान भोजपुर नगरपालिका–२ हेलौचाका ३० वर्षीय राजेन्द्र राईले ससुरालीका चार जना सदस्यको हत्या गरेको अभियोगमा अनुसन्धान शुरु गरिएको भोजपुर प्रहरीले जनाएको छ । मृतकमध्ये राजेन्द्रकी १६ वर्षीया श्रीमती मनीषा गिरी पनि छिन् । करिब ९ महिनाअघि उनीहरूको प्रेम विवाह भएको थियो । अन्तरजातीय प्रेम विवाहलाई समाज र परिवारले
स्वीकार नगरेपछि हत्याको अवस्थामा पुगेको प्रहरीको प्रारम्भीक अनुमान छ ।

राजेन्द्र केही दिनदेखि श्रीमती लिन ससुराली गाउँमा थिए । शनिबार जसरी भए पनि मनीषालाई लिएर फर्किने भनेर ससुराली पुगेको अनुमान छ ।

मनीषालाई लैजाने र लैजान नदिनेबीच विवाद क्रमशः चर्कँदै गएपछि हिंसात्मक रूप लिएको अनुमान छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले घटनाबारे जानकारी दिँदै भने, ‘राजेन्द्रले दिएको बयानअनुसार ससुरालीले छुरा देखाएर आक्रमण गरेपछि उनले त्यही छुरा खोसेर चारै जनाको हत्या गरेका हुन् ।’

६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी, ९ वर्षीय सालो सपन गिरी र श्रीमती मनीषा गिरीको आक्रोशको शिकार बनेका छन् । हत्यापछि राजेन्द्रले आफैंले प्रहरी कन्ट्रोलमा फोन गरी भनेका थिए । राजेन्द्रले प्रहरीलाई फोन गरेर ‘मैले मान्छे मारेँ, मलाई लिन आउनू’ भनेका थिए । राजेन्द्रको पेटको तीन ठाउँमा गहिरो चोट देखिएको छ ।

सामूहिक हत्याअघि ससुराली पक्षले आफूमाथि छुरा प्रहार गरेको दाबी राजेन्द्रले प्रहरीसमक्ष प्रारम्भीक बयानमा भनेका छन् ।

जिल्ला अस्पताल भोजपुरमा प्रहरी निगरानीमा राजेन्द्रको उपचार भइरहेको छ । अवस्था गम्भीर भएकाले थप उपचारका लागि अन्यत्र सिफारिस गर्न सकिने प्रहरीले जनाएको छ ।

राजेन्द्र भोजपुर सदरमुकाममा डेरा गरी बस्ने निर्माण मजदुर हुन् । आर्थिक रूपमा सामान्य अवस्थाका उनी प्रेम विवाहपछि गिरी परिवारसँगको टकरावमा थिए । त्यो टकरावले यति खतरनाक रूप लिन्छ भन्ने अनुमान कसैले गरेका थिएनन् । डीआईजी कार्कीले भने, ‘अन्तरजातीय विवाह र त्यसपछिको पारिवारिक अस्वीकृति नै हत्या जस्तो भीषण निर्णयमा पुग्ने मुख्य कारण देखिन्छ ।’

घटना पारिवारिक विवादजस्तो देखिए पनि यसको जरा सानै उमेरमै भएको प्रेम विवाहसँग जोडिएको प्रहरीको प्रारम्भीक अनुमान छ ।

एक वर्ष नबित्दै श्रीमती माइती फर्किएपछि सम्बन्ध बिग्रिन थाल्यो । श्रीमतीलाई जबरजस्ती घर लान खोज्ने राजेन्द्रको ससुराली पक्षलाई झगडा चर्किदै जाँदा हिंसात्मक घटना भएको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2025 July 6, 2:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया