काठमाडौं प्रहरीद्वारा फरार लम्जुङका घिमिरे र बनेपाका न्यौपाने पक्राउ, ७५ लाख जरिवाना

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले ७८ लाख रकम बराबरको जरिबाना रकम भएको फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको छ ।

असार १७ गते काठमाडौंको तीनकुनेबाट ५१ वर्षीय दीपेन्द्रराज घिमिरेलाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

लम्जुङको मध्यनेपाल नगरपालिका वडा नं. ७ घर भई काठमाडौंको महाराजगञ्ज बस्दै आएका घिमिरे बैंकिङ कसूरका फरार प्रतिवादी रहेको एसपी बोहराले बताए । घिमिरेलाई ४३ लाख ५० हजार रुपियाँ जरिवाना भएको बैंकिङ कसूरका फरार प्रतिवाद हुन् ।

त्यसैगरी प्रहरीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ६ घर भइ काठमाडौंको वडा नं. ६ सरस्वतीनगर बस्दै आएका ५७ वर्षीय बुद्धिनाथ न्यौपानेलाई साउन १७ गते पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । ३१ लाख ५० हजार रुपियाँ जरिवाना बापत २ वर्ष कैदमा राख्ने काठमाडौं जिल्ला अदालतबाट फैसला भएपछि न्यौपाने फरार रहेका थिए । न्यौपानेलाई चेक अनादर कसूर मुद्दामा जरिवाना र कैद भएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका घिमिरे र न्यौपानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइसकेको छ ।

Published : Wednesday, 2025 July 2, 10:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया