वीरगञ्जमा ३ सय १९ किलो चरेशसहित स्याङ्तान पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले ३ सय १९ किलो लागुऔषध चरेशसहित ट्रक, नगद र एकजनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध चरेश लोड गरी ल्याएको भन्ने सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रमुख (एसपी) गौतम मिश्रले बताए ।

ठूलो परिमाणमा लागुऔषध चरेश आउँदै छभन्ने सूचना प्रहरी चौकी सिर्सियाका प्रहरी वरिष्ठ नायव निरीक्षक गगनबहादुर शाहीलाई प्राप्त भएको थियो ।

ट्रकलाई बुधबार साँझ साढे ७ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकमा प्रहरीले नियन्त्रणमा लिएको एसपी मिश्रले बताए ।

रोकी राखेको अवस्थामा फेला पारेको ट्रक चालक ३६ बुद्धिबहादुर स्याङ्तानलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको थियो । पक्राउ परेका चालक स्याङ्तान मकवानपुरको थाह नगरपालिका वडा नं.१२ का स्थायी बासिन्दा हुन् ।

ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध चरेश १३ पोकामा ३१९ किलो फेला परेको एसपी मिश्रले बताए ।

चालक स्याङ्तानले लगाएको हाफ पाइन्टको दाहिने खल्तीमा नेपाली रुपियाँ १ लाख ९२ हजार समेत फेला परेको छ । मालबाहक ट्रक र बरामद लागुऔषध चरेशसहित स्याङ्तानलाई नियन्त्रणमा लिइ लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ५ म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2025 June 26, 2:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया