सहकारी ठगका अभियुक्त रवि बचाउने हिँडेपछि विपीनका चलचित्र नर्हेन अपील, उप्रेतीको कुरै भएन

काठमाडौं । अभिनेता विपीन कार्कीले हजारौँ सहकारीपीडितहरूको भावनामा ठेस पुग्ने गरेर सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानमा सहभागी भएका छन् ।

आइतबार काठमाडौंको बनस्थलीस्थित रास्वपाको पार्टी केन्द्रीय कार्यालयमा पुगेर अभिनेता कार्कीले लामिछानेको पक्षमा हस्ताक्षर गरेर आफूलाई अभियानमा सहभागी गराएका हुन् । सहकारीको करोडौं रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा लामिछाने जिल्ला कारागार रुपन्देहीमा थुनामा छन् ।

सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउन भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाएको छ । रास्वपाको अभियानमा सहभागी भएर अभिनेता कार्कीले आफूलाई राजनीतिमा सक्रिय बनाएका छन् ।

सम्भावना बोकेका अभिनेता कार्की हास्य अभिनयमा निकै रुचाइएका कलाकार हुन् । हजारौँ सहकारीपीडितको भावनामा ठेस पुर्‍याएर अभिनेता कार्कीले आफूलाई सहकारी ठगको पक्षमा उभ्याएपछि गम्भीर प्रश्न उठेको छ ।

अभिनेता कार्कीका चलचित्रहरूलाई सहकारीपीडितहरूले बहिस्कारको अभियान चलाउने चेतावनी समेत दिएका छन् । पीडितहरूले अभिनेता कार्कीका चलचित्र नहेर्न अपील समेत गरेका छन् ।

लामो समय अमेरिका बसेर स्वदेश फर्किएका अर्का अभिनेता रमेश उप्रेतीले पनि सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउन भन्दै पार्टी कार्यालयमा पुगेर हस्ताक्षर गरेका छन् । उप्रेती कलाक्षेत्रबाट फेजआउट भइसकेका छन् । उप्रेतीको चलचित्र क्षेत्रमा खासै ठूलो योगदान छैन । अमेरिका भासिएर अहिले नेपाल फर्किएर सहकारी ठगको पक्षमा र सहकारीपीडितहरूलाई अझै पीडित बनाउने अभियानमा उप्रेती लागेका छन् । उप्रेती जस्ता अभिनेताको खासै नेपाली समाजमा महत्व छैन ।

सम्भावना बोकेका र रुचाइएका अभिनेता विपीन कार्की जस्तो व्यक्तिले आफूलाई सहकारी ठगको पक्षमा उभ्याएपछि सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । रास्वपाका सभापति लामिछाने सहकारी ठगका अभियुक्त मात्रै होइनन् । लामिछाने दुई वटा नागरिकता र दुई वटा राहदानी लिएर नेपालको संविधान र कानूनलाई उल्लंघन गरेका दोषी हुन् । लामिछानेका बारेमा खोज्दै जाने हो भने धेरै काण्डहरू फेला पर्न सक्छन् ।

Published : Monday, 2025 June 23, 4:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया