मन्त्रीहरूले सालीको घरमा जाने बाटाेमा बजेट हालेका छन् : कांग्रेस सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट निर्माण गर्ने कुरामा पहिला सांसदहरूसँग छलफल गरेर बजेट निर्माण गरियो भने परिणाममुखी रहने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटको विनियोजनको विधेयकमा छलफलमा भाग लिँदै खतिवडाले भने, ‘बजेट निर्माण गर्‍यौँ हामीले बजेट निर्माण गर्दा भइहल्छ नि, चलिहाल्छ नि, सधैँ यस्तै हो, अलिअली कराइ हाल्छन् नि माननीयहरू भावका साथ बजेट तयारी भएको अनुभव हामीले गरेका छौँ ।’

‘जनताले हामीलाई अपेक्षा गरेका छन् । बजेट गयो । प्रत्येक दिन, प्रत्येक वडाध्यक्षले हामीलाई फोन गर्छन् । मेरो वडा चाहिँ खोइ ? मेरो वडा जाने बाटो खोइ ? मेरो पालिकामा केही नपर्ने ? ०८४ मा देखलास् भने जस्तै गर्न थाले । देखलास । मेरोमा पर्दै नपर्ने, मेरोमा नपर्ने, फलानोकोमा पर्ने, प्रत्येक वडाबाट यसलाई सिष्टममा ल्याउनुपर्ने जरुरीछ,’ खतिवडाले भने ।

उनले भने, ‘जनताबाट निर्वाचित सांसदहरू मन्त्री हुनुभएको छ । सबैजना निर्वाचित प्रतिनिधि हुनुहुन्छ । यसलाई ख्याल गरेर बजेट निर्माण गर्ने परम्पराको सुरुवात भएदेखि हामी खुसी हुने थियौँ ।’

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका कांग्रेस सांसद खतिवडाले वडाध्यक्षहरूले योजनाहरू नपरेपछि ङिच्च गरेर मेरो वडामा आउलास् भनेर म्यासेज गर्ने गरेको बताए ।

उनले भने, ‘हामी बजेट ल्याउँछौँ । छलफल गर्छौं । आवाज उठ्छ । यसमा कमा, फुलिस्टम चेन्ज गर्नु हुँदैन भन्ने जुन धारणा छ यो परिवर्तन गर्नुपर्छ । सांसदको आवाजलाई सुनेर बजेटलाई केही परिवर्तन गर्नुछ भने परिवर्तन गरियोस् । बिरालो बाँधेर श्रद्धा गर्ने परम्परा अन्त्य हुनुपर्छ ।’

सांसद खतिवडाले भने, ‘बजेटमा केही तितो भन्ने हो भने कोही ससुरालीको बाटोमा हालिएको, कोही जेठी सासुको घरतिर जाने बाटोमा हालिएको, कोही सालीको तिर पनि हालिएको जस्तो देखिएको छन् । कुनै कुनै मन्त्री ज्यूहरूले । यो परम्परा नहोस् । सबैलाई समान रुपमा बजेट वितरण होस् । मन्त्रीको लागि मात्रै होइन । देशको लागि बजेट वितरण गर्ने ।’

सांसद खतिवडाले भने, ‘२०७४ सालतिर ओखलढुङ, सोलुखुम्बर र खोटाङका लागि प्रादेशिक हस्पिटल निर्माण गर्नु प¥यो भनेर हामीले अनुरोध गरेका थियौं । खोलढुङ्गाको मानेभञ्ज्याङ– ७ टोक्सेल भन्ने ठाउँमा १६७ रोपनी जग्गा नेपाल सरकारको नाममा लिएर अधिग्रहण गरेर प्रदेश सरकारलाई दिइयो । प्रदेश सरकारले अहिलेसम्म सुक्को पैसा हाल्दैन । संघमा पनि पठाउँदैन । १६७ रोपनी जग्गा लिएर अधिग्रहण गरेको छ । बेच्न पनि दिँदैन । यस्ता ठाउँमा प्रदेशले सक्दैन भने संघमा लिएर, संघले सक्दैन भने प्रदेशले लिएर बजेट राखेर हस्पिटल राख्नुपर्छ ।’

Published : Sunday, 2025 June 22, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया