मान्छे जलाउने मेसिन खरिदमा ठूलो भ्रष्टाचार, १४ जनाविरुद्ध करोडौंको मुद्दा

काठमाडौं । पशुपति आर्यघाटको शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।

शुक्रबार अख्तियारले विशेष अदालतमा १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना तथा हानीनोक्सानी गरेको आरोपमा आयोगले मुद्दा दर्ता गराएको जनाएको छ ।

कोषका सदस्यसचिव डा.मिलनकुमार थापा, तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालीन उपनिर्देशक रेवती रमण अधिकारी, तत्कालीन उपनिर्देशक सीताराम रिसेल, इन्जिनियर पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख युवराज अधिकारी, कानूनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापा, म्याप इन्टरप्राइजेजका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई र एप्पल इन्जिनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुरज चापागाईं रहेका छन् ।

सम्बन्धित कार्यको अनुभव तथा संलग्न विज्ञको जानकारी नै नलिई अनुभव नै नभएका परामर्शदातालाई सोझै खरिदमार्फत नियुक्त गरेको, ठेकेदार समेतको मिलेमतोमा फर्की कोटेसन तयार गरी नक्कली विज्ञ खडा गरी अस्वभाविक बढी लागत राखी परामर्शदाताबाट गलत प्रतिवेदन पेस गरिएको, परामर्शदाताबाट विलविजक जारी गर्नुपूर्व नै भुक्तानी स्वीकृत गरिएको उनीहरूविरुद्ध आरोप लगाइएको छ ।

कम गुणस्तरको मेसिन जडान गरी समयमा मर्मत समेत नगरी हाल सञ्चालनमा समेत नरहने अवस्थामा पु¥याएको आयोगको ठहर छ ।

आयोगले उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपियाँ बिगो माग गरेको छ ।

Published : Sunday, 2025 June 22, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया