परराष्ट्रमन्त्री डा.राणाकाे आग्रहपछि इरानमा रहेका १६ नेपालीलाई भारतीय दूतावासले उद्धार गरिदिने

काठमाडौं । इजरायल इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ ।

नेपाल सरकारको अनुरोधमा उनीहरूलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा.आरजु राणाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेकि हुन् ।

उनफे भनिन्, “इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरूले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नविन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ । हामीहरू उहाँहरूको सहयोगको प्रतिक्षामा छौँ ।”

केही दिनयता जारी इजरायल इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि डा.राणाले भारत सरकारसँग सो आग्रह गरेकी हुन् । यस प्रयोजनका लागि डा.राणाले भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी छिन् ।

इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै शनिबार परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरू र इरानस्थित भारतीय दूतवासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहेका छन् ।

यससँगै भारतीय दूतावासले नेपाल र त्यहाँ स्थित श्रीलंकाली नागरिकहरूलाई पनि सम्पर्कमा आउन भनेको छ । १६ नेपालीमध्ये अध्यागमन सम्बन्धी कानूनका कारण पाँच जना नेपाली इरानी जेलमा रहेकाले उनीहरूलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको छ ।

Published : Saturday, 2025 June 21, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया