माओवादी नेताद्वय नन्दबहादुर र वर्षमानसँग साँठगाँठ रहेकी ६० किलो सुन तस्कर अमला पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी ४४ वर्षीया अमला रोकालाई पक्राउ गरेको छ ।

सीआईबीको प्रहरी टोलीले अमलालाई शुक्रबार काठमाडौंको टोखा नगरपालिका वडा नं. ३ सूर्यदर्शन टोलबाट पक्राउ गरेको प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

२०८० साउन २ गते बरामद भएको ६० किलो अवैध सुन अनुसन्धान सम्बन्धमा भन्सार चोरी पैठारी तथा संगठित अपराध मुद्धामा अमला फरार रहेकी थिइन् ।

खोजतलासका क्रममा प्रहरीले अमलालाई लामो समयपछि काठमाडौंबाट पक्राउ गरेको छ । चिनियाँ नागरिकसँग विवाह गरेर अमला ठमेलमा होटल तथा गेष्ट हाउस सञ्चालन गरेर बस्दै आएकी थिइन् ।

रोल्पाको थवाङ गाउँपालिका वडा नं. २ घर भईकाठमाडौंको टोखा नगरपालिका वडा नं. ३ सूर्यदर्शन टोलमा बस्दै आएकी थिइन् ।

अमलालाई सीआईबीले आवश्यक कानूनी कारवाहीको लागि काठमाडौं जिल्ला अदालत बबरमहलमा बुझाउने जनाएको छ ।

अमला माओवादी केन्द्रका नेताहरूसँग उठबस गर्दै आएकी थिइन् । तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन, तत्कालीन अर्थमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती लगायतसँग निकै घनिष्ठ सम्बन्धमा थिइन् । उनीहरूको राजनीतिक संरक्षण र आडमा अमलाले आफ्ना पति चिनियाँ नागरिक (बेल्जियम) दावा छिरिङसहितको गिरोहसँग मिलेर सुनको अबैध कारोबार गर्दै आएकी थिइन् । दावा हाल जेलमा छन् । केही अभियुक्तहरू फरार छन् ।

६० किलो सुन तस्करी प्रकरणमा हाइलेबका व्यक्तिहरूले उन्मुक्ति पाएका छन् । पूर्वअर्थमन्त्री एवम् पूवसभामुख कृष्णबहादुर महरा, पूर्वआईजीपी धिरजप्रताप सिंह लगायतका व्यक्तिले उन्मुक्ति पाएका छन् । पूर्वआईजीपी सिंहको ह्वाट्स एपमा कुरा भएको सीआईबीले फेला पारेको थियो ।

यसअघि, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न २९ जना अभियुक्तविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपियाँ बिगो तथा जरिबानाको मागसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिसकेको छ ।

सीआइबीले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाई अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दायर गरेको २९ जना प्रतिवादीमध्ये २६ जना प्रहरी हिरासतमा छन् । तीन जना फरार छन् ।

सीआइबीले अनुसन्धानका क्रममा ३२ जनालाई पक्राउ गरी प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेकोमा छ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।

सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले सुन तस्करीमा संलग्न २९ जनाविरुद्ध अनुसन्धानका क्रममा बरामद भएको स्कुटरको ब्रेक सु मार्फत पटक पटक भएको सुन तस्करीका आधारमा अरोपितविरुद्ध तीन अर्ब ५० करोड दुई लाख रुपियाँ तथा स्कुटरको ब्रेक सुको भन्सारसमेत गरी थप २८ लाख ७५ हजार रुपियाँ गरी कुल बिगो तीन अर्ब ५० करोड ३० लाख रुपियाँ माग दाबी गरिएको अभियोगपत्र काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको बताएका थिए ।

सीआइबीले बरामद भएको सुनबाहेक अनुसन्धानका क्रममा यही समूह र कम्पनीबाट आयात गरी सुन निकालेको अवस्थामा खाली ब्रेक सु बरामद गरेको थियो ।

आरोपपत्रमा सोही अनुसार प्रतिवादीविरुद्ध ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेको आधारमा मुद्दा दायर गरिएको हो । प्रतिवादीलाई अवैध सुन चोरी पैठारी, सङ्गठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसूरका साथै एक साथ यी अपराध गरेकाले एकीकृत कसूरतर्फ थप सजाय माग दाबी गरिएको छ ।

एकीकृत कसूर पुष्टि भएमा सबैभन्दा बढी सजाय हुने कसुरमा थप आधा सजायसमेत जोडिने कानूनी व्यवस्था छ । आरोपित थुप्तिन छिरिङको हकमा प्रहरीले थप सजाय माग गरेको छ । हङकङबाट नेपाल आएको क्याथे प्यासेफिकको विमानबाट ब्रेक सु भित्र लुकाएर ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते विमानस्थलको ट्याक्सी पार्किङ क्षेत्रबाट बरामद गरेको थियो ।

तस्करीमा अन्तरदेशीय गिरोहको सङ्गठित समूहको संलग्नता देखिएपछि विस्तृत अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले साउन २२ गते पक्राउ परेका अभियुक्तसहित अनुसन्धान फाइल सीआइबीमा बुझाएको थियो ।

Published : Friday, 2025 June 20, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया