इजरायल र इरानबाट स्वदेश फर्किन चाहने नेपालीलाई उद्धार गर्न चाहन्छौँ, तयारी गरेका छौँ : डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्ने बताएकी छिन् ।

शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बसेको संयुक्त बैठकमा डा.राणाले इजरायल र इरानबाट नेपाल फर्कन चाहनेहरूलाई उद्धार गर्ने तयारीमा रहेको बताइन् । उनले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको बताइन । स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमा सरकार रहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले आफ्ना नागरिकहरूको चासो र सुरक्षामा नेपाल सरकार चिन्तित रहेको भन्दै स्वदेश फर्किन चाहेमा तत्काल उद्धार गरिने बताइन् । त्यसका लागि सम्पर्क गर्न फोन नम्बर, इमेल र एडभाइजरी जारी गरिएको बताइन् ।

संयुक्त बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दुई देशमा रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताए । उनले स्वदेश फर्कन चाहने नेपालीहरूको उद्धारका तयारी अवस्थामा रहेको बताए । मन्त्री भण्डारीले हाल इजरायल जाने अन्तिम तयारीमा रहेकाहरूलाई श्रम स्वीकृति नदिइ रोकिराखिएको बताएका छन् ।

हाल इजरायलमा पाँच हजार ५०० देखि सात हजार नेपाली रहेका छन् तीमध्ये धेरैजसो तेल अबिब, जेरुसेलम र हाइफामा रहेका छन् । इरानमा १८ जना नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Published : Friday, 2025 June 20, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया