मिस नेपाल पिस २०२५ को खोजी

काठमाडौं । ‘मिस नेपाल पिस २०२५’को खोजी सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जानकारी गराएको हो ।

प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ ।

प्रतियोगिताका शीर्ष तीन विजेताले नगद एक लाखका अलवा अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस वर्ल्ल पिस’, ‘मिस ग्लोबल’, ‘मिस प्लानेट इन्टरनेसनल’ नेपालको प्रतिनिधित्व गर्नुका साथै ५ लाख बराबरको विभिन्न उपहारसमेत जित्न सक्नेछन् । ‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो ।

प्रतियोगितामा देशभरका नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई विभिन्न प्रशिक्षण दिएर अन्तिम चरणका लागि तयार पारिनेछ ।

प्रतियोगिताको प्रारम्भीक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहने आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

अन्तर्राष्ट्रियस्तरमै शान्तिको सन्देश फैलाउँदै नर्सिङ पेसामा आबद्ध तथा अध्ययनरतहरूलाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको हो ।

अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीलाई सञ्चार कला, व्यक्तित्व विकास, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिलिङ लगायतका विषयमा प्रशिक्षण दिइने आयोजक संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् । प्रतियोगितामा विभिन्न आधा दर्जन उपविधामा समेत विजेता छानिने छन् ।

Published : Thursday, 2025 June 19, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया