कांग्रेस सभापति बानियाँद्वारा दोषीलाई कारबाहीको माग, वडाध्यक्ष न्यौपानेलाई कार्यकक्षमा हमला

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले वडाध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक आक्रमणको भर्त्सना गर्दै दोषी उपर कारबाहीको माग गरेका छन् ।

बुधबार सभापति बानियाँले प्रेस नोट जारी गरेर न्यौपानेका दोषीलाई कारबाहीको माग गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १ को वडाध्यक्ष एवं प्रवक्ता न्यौपानेमाथि वडा कार्यालयमा बुधबार कुटपिट र अभद्र ब्यवहार भएको बानियाँले बताएका छन् ।

सभापति बानियाँले घटना लोकतान्त्रिक संविधानको भावना विपरित गम्भीर र निन्दनीय कार्य भएको जनाएका छन् । उनले भने, ‘जनताको मतबाट चुनिएको जनप्रतिनिधिमाथि भएको यस्ता गतिविधिले जनताको भरोसामाथि प्रहार गर्नु हो । तत्काल दोषीलाई कानूनी दायरामा ल्याएर कारबाहीको लागि सुरक्षा निकायहरूलाई आग्रह गर्दछु ।’

हेटौंडा उपमहानगरपालिका–१ वडाध्यक्ष तथा उपमहानगरका प्रवक्ता न्यौपानेमाथि बुधबार दिउँसो अपरिचित समूहले सांघातिक आक्रमण गरेको थियो ।

जग्गा सम्बन्धी समस्या देखाउँदै कालो पोसाक लगाएर मोटरसाइकलमा आएका चार जनाको समूहले न्यौपानेलाई कार्यकक्षमै आक्रमण गरेका थिए । उनीहरूले वडाध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीले टाउकोमा प्रहार गर्नुका साथै मोबिल छ्यापेका थिए । न्यौपानेको टाउकोमा चोट समेत लागेको छ ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जमीन संरक्षण दायित्व स्थानीय तहको रहेको स्थानीय तह सञ्चालन ऐन २०७४, मुलुकी देवानी संहिता २०७४ लगायत कानुनको पालना गर्दै आफ्नो कामका लागि रहँदा वडाध्यक्ष न्यौपानेमाथि आक्रमण गरिएको उपमहागनगरपालिकाले जनाएको छ ।

केही दिन अघिबाट हेटौंडा–१ स्वर्गलोक हेटौंडा अस्पताल पछाडि रहेको सार्वजनिक जमीनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो ।

आक्रमणका लागि आएकासँग प्रतिकारको क्रममा चिच्याएपछि उनीहरू भागेको वडाध्यक्ष न्यौपानेले जानकारी दिएका छन् ।

घटनाका क्रममा वडाध्यक्ष न्यौपानेले प्रयोग गर्ने दुई वटा मोबाइल आक्रमणकारीले लुटेर लगेको वडाध्यक्ष न्यौपानेले बताए । आक्रमणकारीहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2025 June 18, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया