बाग्दुला-मच्छी र दम्ती-धाइरे-अधेरी सडकपछि १२ सडकमा बहुवर्षीय बजेट, मन्त्री राणाको बोल्ड कदम

बाग्दुला । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानपानीमन्त्री रोज राणाले गृहजिल्ला प्यूठानका १२ वटा सडकलाई बहुवर्षीय योजनासहित पर्याप्त बजेट विनियोजन गरेका छन् ।

असार १ गते सार्वजनिक भएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्यूठानका १२ वटा सडकहरूले प्राथमिकताका साथ बजेट पाएको हो । १२ सडकहरूमा बजेट विनियोजन गर्ने मन्त्री राणाको बोल्ड निर्णयसँगै प्यूठानका सडकहरूमा उल्लेख्य सुधार हुनेछ ।

मन्त्री राणाले १२ वटा सडकहरूमा ६ करोड रुपियाँ बजेट विनियोजन गरेका छन् । निर्वाचनका बेला मन्त्री राणाले प्यूठान जिल्लाका सडकहरूमा उल्लेख्य सुधार हुने र बजेट प्राप्त ल्याउने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार राणाले १२ वटा सडकहरूमा बजेट विनियोजन गरेका हुन् ।

मन्त्री राणाले १२ वटा सडकमा ५०/५० लाखका दरले बजेट विनियोजन गरेका छन् । ती १२ सडकहरूको कुल बहुवर्षीय लागत ५९ करोड ८८ लाख रुपियाँ पुग्ने अनुमान गरिएको छ ।

मन्त्री राणाले स्वर्गद्वारी नगरपालिका वडा नं. ५ मा सारी डाँफेधारा स्थानीयलेख रिङरोड रोल्पा सडक, झिमरुक गाउँपालिका वडा नं. ८ किटघाट हिँडडाँडा–उपल्लोकोट–दिहाल्न–ढोरपाटन सडक स्तरोन्नति, झिमरुक गाउँपालिका वडा नं. ३ र ५ मा ढाँड बाँदीकोट–गुल्मी सडक, माण्डवी गाउँपालिका वडा नं. ३ र ४ को देवीस्थान–धनचौर–उदयपुरकोट सडक स्तरोन्नति, माण्डवी गाउँपालिका वडा नं. ५ को चेरनेटा–चिन–जावुने–दाङबाङ ऐरावती सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएको छ ।

मल्लरानी गाउँपालिका वडा नं. ४ बासखोला–पाण्डेडाँडा–भञ्ज्याङ–खलंगा सडक स्तरोन्नति, नौबहिनी गाउँपालिका वडा नं. ४ बाहाने–लुंग लेख सडक स्तरोन्नति, प्यूठान नगरपालिका वडा नं. २ बडारपाटा–ठाइलाखालचौर–ददेरी–देवघर–चितिखोला सडक कालोपत्रे, प्यूठान नगरपालिका वडा नं. ४ इन्द्रेडाडा–विजुवार सडक स्तरोन्नति, प्यूठान नगरपालिका वडा नं. ७ टाकुरा–पाखाडेरा–भित्रीकोट सडक, प्यूठान नगरपालिका वडा नं. ८ गेजवाङ–रज्यान–मानागाउँ–फोप्ली–मैरामारे सडक र गौमुखी गाउँपालिका वडा नं. ७ को पातीहाल्ना–नारीकोट सडकमा बजेट विनियोजन गरिएको मन्त्री राणाले बताएका छन् ।

यसअघि, मन्त्री राणाले बाग्दुला–मच्छी सडकखण्डमा ३० करोड विनियोजन गरेका थिए । राणाले दम्ती–धाइरे–अधेरी सडकखण्डमा १२ करोड बजेट विनियोजन गराएका थिए ।

मन्त्री राणाले बाग्दुला–मच्छी र दम्ती–धाइरे–अधेरी सडकखण्डमा पैदल यात्रा गरेका थिए । पैदल यात्रापछि मन्त्री राणाले बजेटको व्यवस्था गरेका हुन् ।

Published : Wednesday, 2025 June 18, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया