एनसीसीको चुनाव ६ महिना सार्न सकिने एनआरएनएको निर्णय

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)ले अहिलेको विशिष्ट परिस्थितिका कारण राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरूले आफ्नो निर्वाचन बढीमा ६ महिनासम्म सार्न सक्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको परमादेश बमोजिम गत मे ३ र ४ तारिखमा काठमाडौंमा आयोजित एकता महाधिवेशनद्वारा निर्वाचित एनआरएनए आइसीसीका पदाधिकारीहरूको चौथो बैठकले त्यस्तो निर्णय गरेको प्रवक्ता गंगाधर गौतमले बताए ।

एनआरएनए आइसीसीका नवनिर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठ तथा महासचिव बाबुराम लामाद्वारा संघसंग आबद्ध सबै एनसीसीहरूलाई पत्र पठाउँदै एनआरएनए उच्चस्तरीय समितिले सर्वोच्च अदालतकै परमादेश अनुसार सम्पन्न संघको अधिवेशन र त्यसपछि उब्जिएका केही अन्यौलका कारण एनसीसीहरूलाई तोकिएको समयसीमाभित्र निर्वाचन गर्न चुनौती हुन सक्ने कुरालाई हृदयंगम गरी संघको चौथो पदाधिकारी बैठकले आवश्यकता अनुसार बढीमा ६ महिनासम्म राष्ट्रिय समन्वय परिषदहरूको निर्वाचन सार्न सकिने गरी निर्णय गरेको जानकारी गराएका छन् ।

‘हामीलाई विश्वास छ कि यो निर्णयले संस्थालाई एकताबद्ध गरी स्वतन्त्र र समावेशी निर्वाचनको तयारी गर्न पर्याप्त समय मिल्नेछ । विधानले तोकिएको मिति जुलाई १ देखि जुलाई ३१ भित्र निर्वाचन गर्न असमर्थ एनसीसीहरूले जुलाई ३१ बाट ६ महिना नबढ्ने गरी निर्वाचन गर्न गराउन जानकारी गराइन्छ,’ पत्रमा उल्लेख छ ।

यसबारे कुनै जिज्ञासा भए पदाधिकारीहरूलाई सम्पर्क गर्न पनि एनआरएनए आइसीसीले सबै एनसीसीहरूलाई आग्रह गरेको प्रवक्ता गौतमले बताए ।

Published : Tuesday, 2025 June 17, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया