गोदावरी बहुउद्देश्यीय रङ्गशाला : ललितपुर– १ को शान, युवाको भविष्यको आधार

लगनखेल । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको विशेष पहलमा बहुउद्देश्यीय रङ्गशाला निर्माण हुने भएको छ ।

ललितपुर क्षेत्र नं. १ मात्र होइन, समग्र बागमती प्रदेशका लागि गोदावरी बहुउद्देश्यीय रङ्गशाला खेलकुद विकासको केन्द्रबिन्दु बन्ने तयारीमा छ ।

वडा नं. १० टाखेलमा निर्माण हुन लागेको रङ्गशालाका लागि हालसम्म ९ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षभित्र ३६ करोड रुपियाँ बराबरको ठूला टेन्डर खुल्ने खेलकुदमन्त्री महर्जनले जानकारी दिए ।

रङ्गशालाको निर्माणका लागि गोदावरी नगरपालिकाले केन्द्र सरकारबाट भोगाधिकारसहित ३.५ हेक्टर जग्गा सुरक्षित गरिसकेको छ ।

खेलकुदमा रुचि राख्ने युवा, प्रशिक्षक, संघ–संस्था तथा स्कूल–कलेजका लागि यो संरचना प्रशिक्षण, प्रतिस्पर्धा र व्यक्तित्व विकासको थलो बन्नेछ ।

आजका युवालाई भोलिको नेतृत्वमा रूपान्तरण गर्न अनुशासन, मेहनत र स्वस्थ प्रतिस्पर्धाको वातावरण आवश्यक छ । जसको आधार अब गोदावरीमै तयार हुँदैछ ।

रङ्गशाला निर्माण तथा सञ्चालनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुने निश्चित छ । निर्माण मजदूर, सेवा प्रदायक, होटल व्यवसायी, यातायात र खेल सामग्री विक्रेताहरूसम्म एक समग्र आर्थिक सञ्जाल सृजना हुनेछ । यसले गोदावरी क्षेत्रको समृद्धि र गतिशीलता बढाउने मन्त्री महर्जनले विश्वास लिएका छन् ।

यो आयोजना ललितपुर क्षेत्र नं. १ को शहरी विकासको एउटा प्रतीक बन्नेछ । राजधानी नजिकै रहेको हुँदा रङ्गशालामा प्रदेशस्तरीय मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिनेछ ।

पर्यटन, खेलकुद र सेवा क्षेत्रको समायोजनले ललितपुर क्षेत्र नं. १ लाई राष्ट्रिय पहिचान दिनेछ ।

गोदावरी बहुउद्देश्यीय रङ्गशाला केवल ढुङ्गा, गिट्टीको संरचना होइन । यो युवाका सपनाको बुई चढ्ने सिंढी, ललितपुरको गौरव र प्रदेशको भविष्यप्रति गरिएको दीर्घकालीन लगानी हुनेछ । ३.५ हेक्टर जग्गामा बन्ने यो भव्य रङ्गशाला हिजोको कल्पना थियो, आजको काम हो । भोलिको उपलब्धि बन्नेछ ।

गोदावरी स्मार्ट सिटीको रुपमा रहेको गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माणको लागि बागमती प्रदेश सरकारले बजेट बिनियोजन गरे लगत्तै बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री महर्जनलाई बधाई दिनेको ओहिरो नै लागेको छ । त्यसको ज्वलन्त उदाहरण सामाजिक संजालमा देख्न सकिन्छ । बधाई दिनेमा गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, खेलाप्रेमी महानुभावहरू तथा गोदावरी नगरपालिकाका बासिन्दाहरू खुशियाली मनाइरहेका छन् । मन्त्री महर्जन र मेयर गजेन्द्र महर्जनले उक्त रंगशाला निर्माण ठूलै सपना देखेका थिए । आज त्यो सपमा विपनामा परिणत हुँदै छ ।

गोदावरी नगरपालिकाका जनताहरू यतिखेर ‘हामीले रोजेको, हामीले खोजको त्यसै होइन यहि देख्नको निमित्त हामी रोजेको हामीले खोजेको’ भनेर सामाजिक संजालमा लेखिरहेका छन् । खेलकुदमन्त्री महर्जन खेलकुद जगतका नायक मानिन्छ ।

नेपालकै उत्कृष्ट र नमूनाको रुपमा रहेको उक्त रंगशालाको लागत अनुमान डीपीआर अनुसार १ अर्ब २५ करोड रहेको छ ।

३६ करोड बराबरको फास्ट ट्रयाकमार्फत बहुबर्षीय टेन्डर गरिनेछ । यो परियोजना समयमा सम्पन्न गर्न सबैको भूमिका आवश्यक रहेको युवा तथा खेलकुदमन्त्री महर्जनले बताएका छन् ।

Published : Monday, 2025 June 16, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया