कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शास्त्रीको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको ९० वर्षको उमेरमा निधन भएको छ ।

सोमबार बिहान शास्त्रीको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ ।

शोक वक्तव्यमा कांग्रेसले भनेको छ, ‘प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा ढुण्डिराज शास्त्रीको पार्थिव शरीरलाई २०८२ असार ४ गते बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम रहेको छ ।’

नेपाली कांग्रेसको राजनीतिमा जननायक वीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला लगायतका शीर्ष नेताहरूसँग निकटमा रहेर शास्त्रीले कार्य गरेका थिए ।

प्रजातन्त्र पुनर्स्थापनाको संघर्षका क्रममा भारतको वनारस र गोरखपुरमा शास्त्रीले लामो समय प्रवासी जीवन बिताएका थिए ।

आम निर्वाचन २०४८ र २०५१ मा स्व.शास्त्री अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

‘नेपालमा प्रजातन्त्र स्थापना तथा पुनस्र्थापनाका क्रममा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो,’ कांग्रेसले भनेको छ ।

‘उहाँद्वारा लिखित मेरो जीवन र अनुभूति नामक पुस्तक प्रकाशित छ,’ शोक वक्तव्यमा भनिएको छ, ‘नेपाल सरकारद्वारा स्थापित वीपी कोइराला राष्ट्रिय पुरस्कार २०७९ (राजनीतिक दर्शन क्षेत्र) पुरस्कारद्वारा उहाँ सम्मानित हुनुहुन्थ्यो ।’

स्व.शास्त्री शहीद स्मृति प्रतिष्ठानका संरक्षक तथा संस्थापक अध्यक्ष रहेको कांग्रेसले जनाएको छ । शास्त्रीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।

Published : Monday, 2025 June 16, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया