कम्युनिस्टले सरकार नियन्त्रित समाजवाद खोजेकाले असफल भयो : कांग्रेस प्रवक्ता डा.महत

बागलुङ । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारी संस्थान निजीकरण गरेर राज्यलाई फाइदा पुगेको बताएका छन् ।

सोमबार बागलुङमा वीपी चिन्तन प्रतिष्ठान गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा डा.महतले ती संस्थानहरू निजीकरण मात्र नभई निजी क्षेत्रलाई प्रोत्साहन गरेको बताए । उनले भृकुटी कागज कारखाना र हरिसिद्धि टायल उद्योग मात्र जग्गासहित बिक्री गर्नु कांग्रेसको गल्ती भएको बताए । उनले निजी क्षेत्र प्रोत्साहित बन्दा देशको आयस्रोत र कर, राजश्व पनि बढेको बताए ।

डा.महतले स्थानीय र प्रदेश सरकारलाई पनि राजश्व बढाउने क्षेत्रको अध्ययन गर्न सुझाव दिएका छन् । २०४८ सालमा कांग्रेस सरकारले व्यवसायलाई भ्याटमा लगेपछि राज्यको बजेट पनि सय गुणा बढेको बताएका छन् ।

डा.महतले कांग्रेसले निजीकरण मात्र गरेको नभई निजी क्षेत्रलाई प्रोत्साहन गरेको बताए । ‘नेपाल एयरलाइन्स पनि अब सरकारले चलाउने होइन, निजी क्षेत्रलाई बहुमत सेयरमा चलाउन दिनुपर्छ,’ डा.महतले भने, ‘सरकारी जिएमलाई तलब भत्ता खुवाउन मात्र एयरलाइन्स राख्नुको औचित्य छैन ।’

कम्युनिस्टले सरकार नियन्त्रित समाजवाद खोजेकोमा त्यो असफल भएको भन्दै डा.महतले बाध्यकारी ठाउँमा मात्रै सरकारले लगानी गर्ने बताए ।

गतवर्ष अर्थमन्त्री रहेको बेला ३ करोडभन्दा साना योजनामा बजेट नराख्ने नीति ल्याएको भन्दै उनले अहिले त्यो ठूला योजना सञ्चालनमा सहज बनेको बताएका छन् ।

प्रदेश र स्थानीय तहको पनि प्राथमिकताको क्षेत्रमा ठूला बजेटका योजना सञ्चालन गर्न उनले बताएका छन् ।

Published : Monday, 2025 June 16, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया