राक्सिराङबाट ठूलो परिमाणमा हतियार र लागुऔषधसहित तस्कर पक्राउ, अबरोध गर्न खोजेपछि हवाई फायर

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले राक्सिराङबाट तीन थान हतियार, गाेली, ठूलो परिमाणमा लागुऔषधसहित एकजना मानिसलाई पक्राउ गरेर ल्याउने क्रममा हवाई फायर समेत भएको छ ।

मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले जेठ ३१ गते साँझ ७ बजे राक्सिराङ गाउँपालिका वडा १ स्थित राजु स्याङतानलाई दुई थान हतियार र लागुऔषध तथा गोलीसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । राजुको घरमा लागुऔषध र हातहतियार खरखजना लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले छापामारेर पक्राउ गरिएको एसपी खड्काले बताए । राजु स्याङतानलाई हतियार र लागुऔषधसहित नियन्त्रणमा लिइ ल्याउने क्रममा स्थानीय अवरोधको प्रयास गरेका थिए । त्यस क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गर्नु परेको एसपी खड्काले बताएका छन् ।

विशेष सूचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा गई खोजतलास गरेको थियो ।

राजु स्याङतानलाई आफ्नै घर अगाडि फेला पारेर शरीर तथा घर, गोठ समेतको खानतलासी गर्ने क्रममा सुत्ने कोठाभित्र सिरानीमुनी कपडामा बेरी राखेको अवस्थामा पेस्तोले बरामद भएको थियो ।

ईटालियन ०२५ लेखिएको म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र गोली १३ थान, गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करहरूभित्र कपडामा बेरी प्लाष्टिकको झोलाभित्र राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र गोली (कार्तुस) १२ राउण्ड बरामद भएको एसपी विश्वराज खड्काले बताए ।

लागुऔषध अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र लागुऔषध गाँजा २२ किलो ८०० ग्राम पनि फेला परेको प्रहरीले जनाएको छ ।

लागुऔषध तथा हातहतियार बरामद गरी राजु स्याङ्तानलाई नियन्त्रणमा लिई लागूऔषध तथा हतहतियार खरखजना समेतको कसूर मुद्धामा कारबाही भइरहेको छ ।

हतियार र लागुऔषधसहित पक्राउ परेका राजु स्याङतानको बिगतको अपराधिक अभिलेख हेर्दा २०७६ साउन ४ गते लागुऔषध गाँजा तथा हातहतियार मुद्धामा पक्राउ परी पाँच वर्ष ६ महिना कैद सजाय भुक्तान गरी २०८१ सालको माघ महिनामा छुटेका थिए ।

राज स्याङतानले २०७१ सालमा लागुऔषध मुद्धामा पक्राउ परी २ वर्ष कैद सजाय समेत भुक्तान गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सोही दिन जेठ ३१ गते साँझ साढे सात बजे राक्सिराङ गाउँपालिका वडा नं. १ ढुङ्गेनस्थित राजु स्याङतानकै घर नजिकै लागुऔषध र हतियार बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।

चन्द्रलाल मोक्तानको बारीमा रहेको आँपको रुखको फेदमा प्लाष्टिकमा बेरेर सेतो बोराको झोलाभित्र लुकाईछिपाई राखिएको अवस्थामा घरेलु कटुवा पेस्तोल १ थान, गोली ५ राउण्ड र लागुऔषध अफिम जस्तो देखिने पदार्थ २ पोकामा १ किलो ४८० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) खड्काले बताए ।

हतियार र लागुऔषधको मालिकका विषयमा खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Monday, 2025 June 16, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया