इजरायल-इरानमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन राजदूतलाई परराष्ट्रमन्त्री डा.राणा निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गर्न राजदूतहरूलाई निर्देशन दिएकी छिन् ।

आइतबार परराष्ट्रमन्त्री डा.राणाले इजरायल र इरान युद्धका सन्दर्भमा तेल अभिभ तथा दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन गरी नागरिकको सुरक्षा र उनीहरूसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएकी हुन् ।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घट्नाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी आफू प्रमाणीकृत तथा सह–प्रमाणीकृत मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीहरूलाई निरन्तर सुसूचित गर्न निर्देशन दिनुभएको छ ।’

इजरायलमा करिब ५ हजार ५०० नेपालीहरू सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इरानमा रहेका १२ हजार नेपालीहरू सबै सुरक्षित रहेकोसमेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यक उपयुक्त कदम चालिने विज्ञप्तिमा जनाइएको छ ।

ती देशमा रहेका नेपाली नागरिकले आवश्यकताअनुसार राजदूत र दूतावासहमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

Published : Sunday, 2025 June 15, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया