कांग्रेसको प्रश्न – पाँच वटा गम्भीर मुद्दा लागेर जेल परेका रविलाई सभापति र संसदीय दलको नेताबाट हटाउनुभयो ?

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नै सभापति सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा पाँच वटा अदालतमा मुद्दा खेपी रहेका बेला अरुलाई नैतिकताको पाठ सिकाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति गम्भीर प्रश्न उठाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै घिमिरेले भने, ‘जेठ १३ गतेदेखि रास्वपाले गृह मन्त्रालयका एकजना सहसचिवका बारेमा अख्तियारले छानविन प्रारम्भ गरेको भन्ने विषयलाई लिएर नैतिकताको आधारमा गृहमन्त्रीको राजीनामा र छानविन समितिको माग गर्दै संसद अबरुद्धका साथै संसदमा होहल्ला गर्दै आएको छ ।’

प्रश्न गर्दै उनले भने, ‘एउटा कर्मचारीमाथि अख्तियारले छानविन प्रारम्भ गरेको गरेको भन्ने आधारमा नैतिकताको आधारमा राजीनामा माग्ने साथीहरूले पाँच/पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण एवम् संगठित अपराधका मुद्दा खेपीरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा बिराजमान गराइ राख्न कुन नैतिकताले दियो ?’

‘अहिले पनि निर्वाचन आयोगको सूचिकृतमा रास्वपाको सभापतिको पदमा रवि लामिछाने जो जेल हुनुहुन्छ,’ घिमिरेले भने, ‘पाँच/पाँचवटा मुद्दा उहाँमाथि छ । उहाँ नै त्यसको निर्वाचन आयोगको अभिलेखमा सभापतिको पदमा हुनुहुन्छ ।’

प्रमुख सचेतक घिमिरेले भने, ‘त्यो पार्टीले अहिले नैतिकताको पाठ कसैलाई सिकाउन मिल्छ कि मिल्दैन ?’

‘अरुसँग नैतिकता खोज्ने साथीहरूले आफैभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न म सबैभन्दा पहिला आग्रह गर्दछु,’ उनले भने ।

‘रास्वपाको संसदीय दलको नेता परिवर्तन भएको खबर समेत बाहिरिएको छैन,’ उनले भने, ‘संसद सचिवालयमा अहिले पनि रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ ।’

उनले भने, ‘जो संसद सदस्यबाट पनि निलम्बित भइसक्नु भएको छ त्यहि व्यक्ति नै अहिले आफ्नो संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरुलाई नैतिकताको पाठ सिकाउन कति मिल्ने हो ? कति जायज हो ? म सम्पूर्ण जनतामा आग्रह गर्न चाहन्छु ।’

Published : Sunday, 2025 June 15, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया