अमेरिका र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने नुवाकोटको विदुर नगरपालिका–४ घर भएका ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौं महानगरपालिका–१४ बस्ने रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ घर भएका ४० वर्षीय ओमबहादुर खत्री रहेका छन् ।

पक्राउमध्ये राजकुमारले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३५ लाख ६९ हजार रूपियाँ र ओमबहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ७५ हजार रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौं महानगरपालिका–१६ बाट बिहीबार र ओमबहादुरलाई काठमाडौं महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो ।

पक्राउमध्ये राजकुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र ओमबहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Saturday, 2025 June 14, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया