आन्तरिक स्रोतबाट मनहरीले बनायो ५ वटा पक्की पुल, कांग्रेस सभापति बानियाँद्वारा उद्घाटन

मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाको ४ वटा वडाहरूलाई जोड्नको लागि आन्तरिक स्रोतबाट ५ वटा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

नेपाली कांग्रेस बागमतीका सभापति समेत रहेका प्रदेश सांसद ईन्द्रबहादुर बानियाँले ५ वटा पुलहरूको उद्घाटन गरेका छन् । पालिकाले आन्तरिक स्रोतबाट करिब साढे ३३ करोडको लागतमा पक्की पुल निर्माण गरेको हो ।

लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा गत वर्ष नै सम्पन्न गरी उद्घाटन गरिसकिएको छ । मनहरी गाउँपालिका वडा नं. ३ स्थित ठाडोखोला र हाँडीखोलामा निर्मित पुलको बानियाँले उद्घाटन गरेका हुन् ।

८ दशमलव ४० मिटर चौडाई र ९० मिटर लम्बाईको ३ स्पानको ठाडोखोला पुल हिराचन–बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपियाँमा सम्झौता गरी सम्पन्न गरेका छन् । ३५ मिटर लामो एक स्पानको हाँडीखोला पुल भैरव–नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपियाँमा ठेक्का सम्झौता गरी निर्माण गरेका छन् । मनहरी– १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल गत वर्ष जेठ महिनामा उद्घाटन भइसकेको छ ।

३ स्पानको च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपियाँ, २ स्पानको ट्वाङ्ग्रा खोला ६ करोड ४९ लाख ६० हजार रुपियाँ र २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपियाँमा यसअघि नै सम्पन्न गरिएको छ । तीन वटा पुल निर्माणको काम बानियाँ–हिराचन जेभीले गरेका हुन् । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमा पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी सबै पुल निर्माण सकेको छ ।

हेटौंडा उप–महानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट बेहोर्नेगरी २०७७ सालमा एकैसाथ ५ वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो । सो सडकअन्तर्गत सबै पुल निर्माण सकिएसँगै साविकको हाँडीखोला गाविसका किसानको कृषि उपजको बजारीकरणमा सहजता हुने र स्थानीयवासीको पनि दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ ।

सभापति बानियाँले पुल निर्माणसँगै हाँडीखोलाका कृषि उत्पादन सहज रुपमा बजारमा पुर्‍याउन सहयोग पुग्ने बताएका छन् ।

लामिटार–चकरी–मकरी पदमपोखरी सडक स्तरीकरण र कालोपत्रे गर्न प्रदेश सरकारबाट आवश्यक बजेट बिनियोजन गर्ने बानियाँले विश्वास व्यक्त गरे । ‘हाँडीखोलालाई राजमार्गसँग जोड्न राप्तीखोलामा प्रदेश सरकारमार्फत पुल बनायौँ, यता वडा जोड्न गाउँपालिकाले पुल बनायो, अब यो लामिटार मकरी सडक पिच गर्न प्रदेश सरकारमार्फत बजेट हाल्छु, चौरासीसम्म यो बाटो जसरी पनि पिच गर्ने हो,’ सभापति बानियाँले भने ।

चकरीबाट हेटौँडा–१३ पदमपोखरी जोड्ने पुल निर्माण गर्नको लागि पनि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने बानियाँले प्रतिवद्धता जनाए । संघीयता र गणतन्त्र आएपछि धेरै विकासका कामहरू भएको भन्दै बानियाँले वर्तमान व्यवस्था जनताको हितमा रहेको बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पुल निर्माण सकिएसँगै मनहरी गाउँपालिकाको ४ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भन्दै खुसी व्यक्त गरेका छन् । अब सडक स्तरीकरणमा आफूहरुले ध्यान दिने कालाखेतीले बताए ।

जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलान, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी, प्रदेशसभा पूर्व सांसद ओम ग्लान, मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष एकराज उप्रेती, नेपाली कांग्रेस मनहरी सभापति प्रकाश बर्ताैला, वडा नम्बर ३ का वडाध्यक्ष अनन्त अर्याल, स्थानीय नरहरिनन्दन उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Published : Saturday, 2025 June 14, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया