अख्तियारद्वारा भ्रष्ट जनप्रतिनिधि र कर्मचारीहरूविरुद्ध २ करोड ४९ लाखकाे भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धन आयाेगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती खरिदका नाममा अनियमितता गरेको आरोपमा तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बिहीबार आयाेगले विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेकाे जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा सौर्य बत्ती जडान योजनाका लागि छुट्याइएको दुई करोड १६ लाख रूपियाँको बजेटलाई अनियमित ढंगले टुक्र्याएर पाँच वटा छुट्टाछुट्टै प्याकेजमार्फत खरिद प्रक्रिया अघि बढाइएको थियो ।

यस क्रममा स्वीकृत बजेटभन्दा ३७ लाख बढी रकम अर्थात कूल दुई करोड ५३ लाख १७ हजार २५० रूपियाँ लागत अनुमान गरेर बोलपत्र आह्वान गरिएको आयोगले जनाएको छ ।

मुद्दा दायर गरिएकामध्ये गाउँपालिका तत्कालीन अध्यक्ष यादवसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहा, लेखापाल सञ्जय कुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब-इञ्जिनियरहरू सन्तोष राय र राजु राय छन् ।

यसैगरी आयोगले ठेक्का लिएको स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के. स्टोर्स र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपालका सञ्चालकहरू जय प्रकाश यादव, रञ्जु कुमारी शाह र संगीता कुमारीविरुद्ध पनि मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

अख्तियारले सार्वजनिक बजेटमा बदनियतपूर्वक अनियमितता गरेर गैरकानूनी लाभ लिएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।

तत्कालीन पालिका अध्यक्ष यादवविरुद्ध २ करोड ४९ लाख ४० हजार ११० रूपियाँ र निमित्त प्रमुख प्रशासकीय अधिकृत साहविरुद्ध पनि सोही बिगो कायम गरिएको छ ।

लेखा अधिकृत कुशवाहाविरुद्ध ४७ लाख ५९ हजार ५६०, लेखापाल ठाकुर, जिन्सी शाखा यादव र सब इन्जिनियरद्वयविरुद्ध २ करोड ४९ लाख ४० हजार ११० रूपियाँ नै बिगो कायम गरिएको छ ।

Published : Thursday, 2025 June 12, 4:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया