बालेन निकट तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।

बुधबार अख्तियारले विशेष अदालत काठमाडौंमा प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । परियार हाल सूचना तथा प्रशारण विभागमा महानिर्देशक छन् ।

परियार काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेकै बेला सम्पादित कार्यमा चार करोड भन्दा बढी रकम अनियमितता भएको भन्दै आयोगले बुधबार परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परियार २०८० माघ ५ गतेदेखि ०८१ भदौ २७ गतेसम्म काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । रियार जानुअघि प्रमुख प्रशासकीय अधिकृत रहेका बसन्त अधिकारीसँग मेयर बालेनको मिल्ती थिएन ।

बालेनले अधिकारीलाई बिदामा बस्न दबाब दिएका थिए । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकारीको सरुवा गरेर परियारलाई काठमाडौं महानगर पठाएको थियो ।

मेयर बालेन हालसम्मको कार्यकालमा आएका प्रमुख प्रशासकीय अधिकृतमध्ये परियारसँग मात्रै राम्रो सम्बन्ध रहेको थियो ।

परियारसँग कुरा मिलिरहेकै बेला बालेनको एमाले र प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध खलबलिएको थियो ।

बालेनले प्रधानमन्त्री र एमालेविरुद्ध सामाजिक सञ्जालमार्फत वाकयुद्ध छेडेका थिए ।

संघीय सरकारले सात महिनामै परियारलाई महानगरबाट झिकाएर उनको ठाउँमा हालका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई पठाएको थियो ।

गुरागाईंसँग बालेनको सुरुदेखि नै तादम्यता मिल्न सकेका थिएनन् । अख्तियारले परियारविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दाको आरोप पत्रमा सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको दाबी गरेको छ ।

काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको उजुरी निवेदनका आधारमा अनुसन्धान गरेको अख्तियारले जनाएको छ ।

सोही ठेक्कामा मिलेमतो गरेको भन्दै परियारसहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरू चार जना निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य र नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक उत्तम दाहाललाई अख्तियारले मुद्दा लगाएको छ ।

परियारसहित सातै जनालाई अख्तियारले मिलेमतो तथा बदनियतमा ठेक्काको खरिद प्रक्रिया सञ्चालन गरेको आरोप लगाएको छ ।

अख्तियारका अनुसार सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा सबैभन्दा कम रकममा कामको प्रस्ताव गर्ने कम्पनीलाई आयोग्य करार गरेर चार करोड बढी रकम कबोल गर्नेसँग सम्झौता गरेको विषयलाई प्रमुख आधारको रुपमा लिएको छ ।

अख्तियारको अभियोजन पत्रअनुसार उक्त निर्माण कार्यको टेन्डरमा सबैभन्दा कम १८ करोड नौ लाख २२ हजार ३२५ रुपियाँ पैसा ६३ मा काम गर्नेगरी समानन्तर सेवा प्रालिले प्रस्ताव गरेको देखिन्छ ।

बोलपत्र मूल्याङ्कन समितिले अयोग्य ठहर गरेर २२ करोड ४० लाख ९४ हजार ६१२ रुपियाँ ९५ पैसा कबोल गर्ने कल्पवृक्ष–कोहिनुर जेभिसँग ठेक्का सम्झौता गरेको देखिन्छ ।

जसमा चार करोड ३१ लाख ७२ हजार २८७ रुपियाँ ३२ पैसा बराबरको रकम महानगर÷सार्वजनिक संस्थाको सम्पत्तिको बदनियतपूर्वक हानिनोक्सानी गरेको तथ्य देखिएको अख्तियारले ठहर गरेको छ ।

यही फरक परेको चार करोड ३१ लाख ७२ हजार २८७ रुपियाँ ३२ पैसा रकम बिगो कायम गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Published : Wednesday, 2025 June 11, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया