कर्मचारीको तलव नबढाउने हो भने भ्रष्टाचार रोकिदैन, गरिवका लागि बजेटले बजार भाउ देखेन : कांग्रेस सांसद बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले आर्थिक वर्ष २०८२/८३ को बजेट राम्रो आएको भन्दै कार्यान्वयनमा जोड दिएका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफलमा भाग लिँदै बस्नेतले भने, ‘आर्थिक वर्ष २०८२/८३ को बजेट आएको छ । राम्रो बजेट आएको छ । कार्यान्वयन पक्षमा भोलि राम्रोसँग कार्यान्वयन गर्न सकियो भने यसले रिजल्ट पनि राम्रो आउँछ भन्ने मैले आशा लिएको छु ।’

उनले भने, ‘मलाई मनमा लागेको बजेट बनाउँदा दुई तीन वटा कुरा छन् । हामी बजेट त बनाउँछौं देशको तर, त्यो गरिव जनताको रेखामुनि जुन गरिवी छ त्यसलाई हेरेर हामी बजेट बनाउँछौँ कि बनाउँदैनौँ ? मेरो प्रश्न यो हो । हामी बजेट बनाउनेमा हामी सांसदहरू हामीलाई नुन, तेल, सुन बजार भाउ थाहा छ कि छैन ? यो बजेटमा थाहा हुनुपर्‍यो भन्ने न्यूनतम कुराहरू पनि हो ।’

‘हामी भ्रष्टाचारको कुरा गर्छौं । अहिले विकृति, विसंगती उपभोक्ता समितिहरूमा छ । स्थानीय उपभोक्ता समितिहरू छन् । त्यो उपभोक्ता समितिहरू तुरुन्त खारेजी हुनुपर्छ । भ्रष्टाचारको अन्त्य हुने हो भने । त्यसमा धेरै विसंगतीहरू छन्,’ सांसद बस्नेतले भने ।

‘हाम्रो लाइफलाइन काठमाडौं, मुग्लिन, नारायणगढ सडकमार्ग छ । यसलाई लाइफलाइन पनि भनिन्छ । देशका धेरै राजमार्गहरू बनेका छन् । चार लेनका राजमार्गहरू छन्,’ बस्नेतले भने, ‘यो दुई लेनको राजमार्ग छ । म बच्चादेखि हेरेको हेरै छु । अरबौं अरब डलर खर्च भइसकेको छ । कहिल्यै पनि बन्दैन यो राजमार्ग । बाढी, पहिलो आयो कि यो राजमार्ग बन्द हुन्छ । यसको बिकल्पमा धेरै मार्गहरू खोलिएका छन् । ती मार्गहरू पनि बर्षात् हुनासाथ बन्द हुन्छन् ।’

सांसद बस्नेतले भने, ‘बैकल्पिक बाटो खोल्नु पर्छ । ८ लेनको मार्गलाई चार लेनको बनाउनु पर्छ । चार लेनको बनाउन सकिदैन भने अर्को खोलाको बाटोबाट भए पनि मुग्लिनको पारीबाट भए पनि दुई लेनको बाटो बलियो, कहिल्यै नभत्किने बाटो बनाउन सक्नु पर्छ ।’

‘बजेट बनाउँछौँ । ठेक्कापट्टा लगाउँदा, अन्तिम अन्तिममा लगाउँछौँ । हतार हतार । स्थानीयलाई हतार, हामीलाई हतार, सरकारलाई हतार, बजेट कसरी सिध्याउने भन्ने मात्रै हतार । त्यहाँ हामी चुकेका छौँ,’ उनले भने, ‘बजेट आउनेवित्तिकै हामी तुरुन्त ठेक्कामा जाने । ठेक्कामा गएर काम गर्ने । यो गर्न सकियो भने हाम्रो आर्थिक अनियमितता पनि कम हुन्छ ।’

सांसद बस्नेतले भने, ‘कर्मचारीले काम गरेन । कर्मचारीहरू काम गर्दैनन् । कर्मचारीहरू भ्रष्ट भए भन्ने कुरा धेरै सुनियो । साँच्चिकै कर्मचारीहरू भ्रष्ट भएकै हुन त ? यो देशमा जुन महँगी छ । आकाशिएको महँगी छ । कालोबजारी छ । पिउनदेखि हाकिमसम्मको निजामती कर्मचारीको कुरा गर्ने हो भने पिउनदेखि हाकिमसम्म तलव स्केल हामीले हेरौँ । प्रहरी, सेना, सशस्त्र प्रहरीको तलव स्केल हेरौँ । प्राइभेट क्षेत्रको तलव स्केल हेरौँ । पब्लिक क्षेत्रको तलव स्केल हेरौं । शिक्षकको तलव स्केल हेरौँ । त्यसले खान पुग्छ ?’

‘२६÷२८ हजारदेखि ८० हजार छ तलव । त्यो रेन्जमा बाँचेर खान पुग्छ ? भ्रष्टाचार दुई थरीको हुन्छ । एउटा मानसिक भ्रष्टाचार । त्यो गरिव होस् वा धनी होस् । पैसावाला होस् । पैसा नभएको वाला होस् । त्यसले भ्रष्टाचार गर्छ । आफू भोको पेटले भ्रष्टाचार गर्छ । हामीले काम भएन । भ्रष्टाचार भयो भन्छौँ,’ उनले भने ।

सांसद बस्नेतले भने, ‘घर भाडा यस्तो महँगो छ । बिजुली र धाराको पैसा तिर्नै पर्छ । ट्रान्सपोर्टेशन महँगो छ । शिक्षा महँगो छ । महँगी त्यत्तिकै छ । अनि कसरी बाँच्ने हो कर्मचारी ? तलव नबढाउने ? संसाभरिको कर्मचारी हेर्नुस् । सबै कुरा दिएको छ । हामी दिनै सक्दैनौँ । हामीले तलव नबढाउने हो भने यो देश भ्रष्टाचार रोकिदैन । काम हुँदैन । भोको पेट काम हुँदैन । सरकारले कर्मचारीहरूको तलव तेब्बरसम्म बढाएर सेवा सुविधा बढाउनै पर्छ ।’

Published : Friday, 2025 June 6, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया