परराष्ट्रमन्त्री डा.राणाद्वारा बेहडा बाबाको मन्दिरमा पूजाअर्चना

धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणाले धार्मिक र ऐतिहासिक महत्व बोकेको बेहडा बाबा मन्दिरमा पूजाअर्चना गरेकी छिन् ।

शुक्रबार कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहडा बाबाको मन्दिरमा डा.राणाले दर्शन गरेकी हुन् । डा.राणाद्वारा विधिअनुसार पूजाअर्चना गरिएको निजी सचिवालयले जनाएको छ ।

बेहडा बाबा मन्दिर सुुदूरपश्चिमको मात्रै नभई मुलुककै बहुचर्चित धार्मिक आस्थाको केन्द्र मानिन्छ । महादेवको यो मन्दिरमा पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

स्थानीय बुद्धिजीवीहरूका अनुसारमन्दिर भएको स्थान घना जंगल थियो । परापूर्वकालमा शिवलिङ्ग आफै उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको थियो । रामपुर गाउँस्थित जंगलकिनारमा रहेको मन्दिरमा भएको शिवलिङ्ग परिवर्तनशील देखिएको थियो । सो क्षेत्रमा उहिले भारतीयहरूको दवदवा थियो । त्यस ठाउँमा बाक्लो वनजंगल भएका कारण त्यहाँ मानिसहरूको बसोबास थिएन । पछि मन्दिर बनेपछि नजिकैका आदिबासीहरू बस्दै आए । भारतीयहरू घुम्न आएका बेला शिवलिङ्ग फेला पारेका थिए । उनीहरूले शिवलिङ्गमा डोरीले बाँधेर कैयौंपटक उखेल्न प्रयास गरेको बताइन्छ ।

शिवलिङ्ग उखेल्न नसक्दा फलामको घनले हिर्काएको बताइन्छ । घनले हिर्काएको छाप अहिले पनि शिवलिङ्गको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ । शिवलिङ्ग लैजान नसकिएपछि सोही ठाउँमा मन्दिर स्थापना गरिएको जनविश्वास छ ।

मन्दिर परिसरमा महादेवा नामको एउटा ठूलो तलाउछ । तलाउमा स्नानगरी दर्शनार्थीहरू शिवजीको पूजा गर्दछन् ।

बेहडा बाबा मन्दिर धनगढी बजारस्थित क्याम्पस चोकबाट करिब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गको चौमाला बजारबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ ।

Published : Friday, 2025 June 6, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया