मन्त्री राणाद्वारा बाग्दुला–बहाने सडकखण्डमा पैदलयात्रा, पर्यप्त बजेट छुट्याउने घोषणा

बाग्दुला । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउने अन्तिम तयारी गरिरहेका बेला शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बाग्दुला–बहाने सडकखण्डमा पैदलयात्रा गरि सुझावहरू लिएका छन् ।

शुक्रबार बिहान प्यूठानको बाग्दुलाबाट मन्त्री राणाले आफ्नो सचिवालय, मातहतका कर्मचारीहरूका साथै नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूसहित पैदलयात्रा गरि स्थानीय मतदाताहरूको रायसुझाव संकलन गरेका हुन् । उनले दम्तीदेखि अधेँरीखोलासम्म करिब ६ किलोमिटर सडकखण्डमा पैदल यात्रा गरेका हुन् ।

मन्त्री राणाले बाग्दुला–बहाने सडकखण्डमा यस पटक पर्याप्त बजेट विनियोजन गरि कालोपत्रे गरिने बताए । स्थानीय मतादाताहरूले पनि बाग्दुला–बहाने सडकमा कालोपत्रे हुन नसक्दा आवतजावत गर्न कठिनाइ भएको गुनासो गरेका थिए । स्थानीयहरूको माग र गुनासोअनुसार आफूले यसै पटकको बजेटमा पर्यप्त बजेट विनियोजन गर्न लागेको मन्त्री राणाले बताएका छन् ।

निर्वाचनका बेला मन्त्री राणाले बाग्दुला–बहाने सडकमा कालोपत्रे गर्न प्रतिवद्धता जनाएका थिए । निर्वाचनको प्रतिवद्धता पूरा गर्ने बेला आएको मन्त्री राणाले बताएका छन् ।

मन्त्री राणाले स्थानीयसँग भने, ‘यसै पटक पिच गर्ने भनेर म बाटो हेर्न आएको हुँ । दम्तीबाट पुल हाल्ने भनेर लामो समयदेखि कुरा मात्रै भयो । दम्तीबाट कोलछापासम्म, तपाईहरू वारी र पारीका जनताहरूले जग्गाको विवाद नहुने गरेर बसेर मिलाउनु होला । यसै पटक म त्यो पुलको लागि बजेट हाल्नेछु । काँडाबाङको पुल टेण्डर भइसकेको छ । किटघाटको पुल पनि टेण्डर भयो । मैले हिजो जुनजुन प्रतिवद्धता गरेको थिएँ जितेर जाँदा त्यो प्रतिबद्धताबाट म भाग्दैन ।’

बाग्दुला–बहाने सडकखण्ड प्यूठानको पुरानोमध्येकै सडक मानिन्छ । यसअघिका जनप्रतिनिधिहरूले बाग्दुला–बहाने सडकखण्डलाई कालोपत्रे गर्नका लागि चासो नै नदिएको स्थानीयको भनाइ छ ।

मन्त्री राणाले भने, ‘आर्थिक वर्ष २०८२/८३ को बजेटमा बाग्दुला–बहाने सडकखण्डलाई बजेट विनियोजन गर्छु । सडक कालोपत्रे हुन्छ । नौबहिनीसहितका स्थानीयलाई यात्रा गर्न सहज हुन्छ ।’

दम्ती–अधेँरी सडकका लागि आर्थिक वर्ष २०८२/०८३ मै बजेट विनियोजन गरिने र अधेँरीदेखि बहाने गाउँपालिका पहुँच मार्ग सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न दवाब दिने मन्त्री राणाले बताएका छन् ।

पैदल यात्रामा प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्मा, झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, नेपाल तरुण दल प्यूठानका अध्यक्ष कृष्ण बस्याल ‘रोयल’ लगायतको उपस्थिति रहेको थियो ।

यसअघि, मन्त्री राणाले बाग्दुला–मच्छी सडकखण्डमा पैदल यात्रा गरेका थिए । त्यस बेला मन्त्री राणाले बाग्दुला–मच्छी सडकखण्डमा कालोपत्रे गर्नका लागि ३० करोड बजेट विनियोजन गरेर रकम ल्याएका थिए । यो सडकखण्डमा धमाधम काम भइरहेको छ ।

Published : Friday, 2025 June 6, 12:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया