गृहमन्त्री लेखकद्वारा सामाखुसीमा विपद् व्यवस्थापन कार्यालयको निरीक्षण

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशीको निरीक्षण भ्रमण गरेका छन् ।

बुधबार गृहमन्त्री लेखकले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् । लेखकले विपद् सम्बन्धी कृत्रिम घटना उद्दार अभ्यास प्रदर्शन एवम् विपद् उद्दार सामाग्री भण्डार, पुलिस डिजास्टर रेस्पोन्स टिम र विशिष्टिकृत उद्दारकर्ता समूहको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका छन् ।

गृहमन्त्री लेखकले नेपालको भूगोल अत्यन्त जोखिमपूर्ण रहेको र हरहमेसा विपदको सम्भावना रहेको हुँदा नेपाल प्रहरी जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहनुपर्ने बताए ।

देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराधको नियन्त्रण तथा अनुसन्धानका साथै विपद् व्यवस्थापन पनि प्रहरीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै गृहमन्त्री लेखकले विपदको समयमा कुनै पनि गुनासो नआउने गरी नागरिकको उद्दारमा अत्यन्त क्रियाशीलताका साथ खटिन निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक दीपक थापाले विपदका सम्भावित चुनौतिहरूको सामना गर्न नेपाल प्रहरी चौकीस्तरसम्म अन्य सुरक्षा
निकायहरूसँगको समन्वयमा तत्काल परिचालन हुन सक्ने अवस्थामा रहेको बताए ।

विपदका घटनामा उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन आईजीपी थापाले निर्देशन दिएका छन् ।

विपद् व्यवस्थापन कार्यालय सामाखुशीकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । उनले मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य सम्बन्धी प्रस्तुतीकरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2025 June 4, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया