राजनीति स्थायित्व प्रदान गर्न कांग्रेस र एमालेको सरकार बनेको हो : परराष्ट्रमन्त्री डा.राणा

धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व प्रदान गरी यसैका माध्यमबाट आर्थिक विकास गर्नु रहेको बताएकी छिन् ।
बुधबार सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई कैलालीको धनगढीमा सम्बोधन गर्दै डा.राणाले भनिन्, ‘मुलुक राजनीति अस्थिरताको बन्दी बनेपछि स्थायित्व प्रदान गर्न दुई प्रमुख दल कांग्रेस र एमालेको सरकार बनेको हो ।’
‘त्यसैले यो सरकारको प्राथमिकता स्थायित्व, आर्थिक विकास र शान्ति हो,’ डा.राणाले भनेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले कुनै पनि देशमा स्वदेशी तथा वैदेशिक लगानीका लागि सबैभन्दा पहिला राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्ने भएकाले यसैका लागि वर्तमान सरकार कार्यरत रहेको बताएकी छिन् ।
उनले कानूनमा सुधार गरेर हुन्छ या नयाँ नीति नियमहरू निर्माण गरेर लगानीमैत्री वातावरण निर्माण गरी स्वदेशी तथा विदेशी लगानी प्रवर्धनमा वर्तमान सरकार लागेको बताइन् ।
परराष्ट्रमन्त्री डा.राणाले सरकारको आर्थिक विकासको एजेण्डालाई थप प्रवर्धन गर्न आफूले परराष्ट्र मन्त्रालयमा अलग्गै आर्थिक कूटनीति महाशाखाको स्थापना गरेर कुटनीतिका माध्यमबाट विदेशी लगानी भित्र्याउने कामका लागि सहजीकरण गरिरहेको बताएकी छिन् ।
डा.राणाले कुनै पनि देशको आर्थिक विकासको इञ्जिन भनेको निजी क्षेत्र हो भन्ने मान्यतामा वर्तमान सरकार र आफ्नो पार्टी नेपाली कांग्रेस रहेको भन्दै लगानीमैत्री नीति तथा कानूनहरू निर्माण गरेर बढीभन्दा बढी लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले लिएको बताएकी छिन् ।

‘जुनसुकै लगानीका लागि पनि राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्दछ, यो स्वाभाविक हो,’ डा.राणाले भनेकी छिन्, ‘त्यस्तै कुनै पनि देशमा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न स्वदेशी लगानीकर्ताहरूलाई पनि उचित वातावरण आवश्यक पर्दछ । यो वास्तविकता बुझेर वर्तमान सरकारले काम गरिरहेको छ ।’
परराष्ट्रमन्त्री डा.राणाले सुदूरपश्चिम पर्यटन, संस्कृति, कृषि उपजलगायतका धेरै क्षेत्रमा धेरै सम्भावना बोकेको प्रदेश रहेको भन्दै सो क्षेत्रमा बढी भन्दा बढी लगानी गरेर मुनाफा लिन निजी क्षेत्रलाई आह्वान गरेकी छिन् ।
डा.राणाले आफ्ना क्षेत्रमा ठूलो लगानी भित्र्याउनका लागि प्रदेश सरकार तथा स्थानीय नागरिकहरू पनि आफ्ना ठाउँबाट सशक्त रुपमा लाग्नुपर्ने बताएकी छिन् ।
डा.राणाले भनिन्, ‘यस क्षेत्रको विकासका लागि सबै एकजुट भएर लागौँ । विकासमा राजनीति शोभनीय हुँदैन । राजनीतिलाई आफ्ना ठाउँमा राखौँ र आफ्ना क्षेत्रको विकासका लागि एकमत बनाएर लागौँ ।’
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया