गृहमन्त्री लेखकद्वारा विपद् व्यवस्थापन तयारीको अवलोकन, विशेष तयारीमा रहन निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले सूचना संकलन एवम् पूर्वअनुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्व तयारीबारे विस्तृत जानकारी लिने क्रममा लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमी कमजोरीहरूको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्न निर्देशन दिए ।

विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र प्रदेश सरकार लगायतका निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्ने गरी कार्य गर्न उनले निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले विपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन एवम् विपद् उद्दार सामाग्रीहरूको अवलोकन गरेका छन् ।

कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद्व्यवस्थापनमा सूचना संकलन र आपसी समन्वय महत्वपूर्ण हुने बताए । उनले नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

आम नागरिकले संकटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने आर्चायले बताए ।

प्रहरी महानिरीक्षक दीपक थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान गर्न, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा नेपाल प्रहरीले आफ्नो क्षमता र उपलब्ध स्रोत, साधनको समुचित प्रयोग गरी कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएको बताए ।

सबै किसिमका आपतकालीन घटनामा अग्रपंक्तिमा रहेर प्रहरीले बहुआयामिक भूमिका निर्वाह गर्दै आएको र निरन्तर गरिरहने थापाले बताए ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले विपद् व्यवस्थापन पूर्व तयारी सम्बन्धी आ–आफ्नो प्रस्तुति राखेका थिए ।

Published : Tuesday, 2025 June 3, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया