क्यानडामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

अटवा । क्यानडास्थित नेपाली दूतावास र क्यानडा–नेपाल मैत्री तथा सांस्कृतिक समाजले संयुक्त रूपमा भ्यानकुभरको बर्नाबीमा गत शनिबार विशेष कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएका छन् ।

नेपाल र क्यानडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सवको एक भागको रूपमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

आफ्नो उद्घाटन मन्तव्यमा क्यानडाका लागि नेपालका राजदूत भरत राज पौड्यालले सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर इतिहास रचेको स्मरण गरे ।

उनले हिमाली साहसिक यात्रामा शेर्पा समुदायको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै नेपालका पर्यटन आकर्षणहरुको चर्चा पनि गरेका छन् ।

राजदूत पौड्यालले क्यानडाली नागरिकहरूलाई नेपाल भ्रमण गरी साहसिक यात्रा, संस्कृति, आध्यात्मिकता र नेपालको अप्रतिम प्राकृतिक सौन्दर्य अनुभव गर्न आग्रह गरेका छन् । उनले नेपाल–क्यानडा मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका ६ दशकमाथि पनि प्रकाश पर्दै कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याएकोमा क्यानडा–नेपाल मैत्री तथा सांस्कृतिक समाजप्रति आभार प्रकट गरेका छन् ।

प्रसिद्ध सगरमाथा आरोहीहरू —शेर्पा डेब रोड्नी, श्रीमती डोमा शेर्पा, क्रिस्टोफर डेयरले विश्वकै सर्वोच्च शिखर आरोहणका प्रेरणादायी अनुभवहरू साझा गरेका छन् । १२ पटक सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही पेमा छिरिंग शेर्पाले भर्चुएल माध्यमबाट सम्बोधन गर्दै सगरमाथा आरोहण पहिलेभन्दा गाह्रो हुँदै गएको बताए ।

‘जलवायु परिवर्तनले गर्दा पहिले ३०० मिटर हिउँ हुने ठाउँमा अहिले चट्टान मात्रै छ । यसले आरोहणलाई थप जोखिम पूर्ण बनाएको छ । यो नेपाल मात्रै हैन संसारकै लागि चिन्ताको विषय हो,’ उनले भने ।

कार्यक्रममा सगरमाथा आरोहणसम्बन्धी विशेष वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । राजदूत पौड्यालले सगरमाथा आरोहीहरूको साहस, दृढ संकल्प, सफल आरोहण र नेपाल तथा नेपाली पर्वतारोहणलाई क्यानडामा प्रवर्द्धन गर्न पु¥याएको योगदानको कदर गर्दै विशेष सम्मानपत्र प्रदान गरेका थिए ।

ब्रिटिश कोलम्बियाको विधायिका सभाका सभामुख राज चौहान, सांसद पॉल छोई तथा नेपाली समुदायका प्रतिनिधिहरूले कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनीहरूले सगरमाथा दिवसको महत्व र नेपाल–क्यानडा सम्बन्धका विभिन्न आयामबारे चर्चा गरे ।

बर्नाबी नगरका मेयर माइक हर्लेले सन् २०१५ को महाभूकम्प लगत्तै आफ्नो नगरका अग्नि नियन्त्रकहरूले नेपालमा गएर उद्धार कार्यमा सहयोग गरेको स्मरण गरेका छन् ।

आफ्नो स्वागत मन्तव्यमा क्यानडा–नेपाल मैत्री तथा सांस्कृतिक समाजका अध्यक्ष नवीन ढकालले संसारमा असम्भव भन्ने केही छैन भन्दै युवा पुस्तालाई आफ्नो उद्देश्यमा लागि रहन आग्रह गरेका छन् ।

त्यस्तै एनआरएनए क्यानडाका अध्यक्ष तथा ब्रिटिश कोलम्बिया नेपाली समाजका अध्यक्ष माधव दुलालले नेपाली गौरव र पहिचानका रूपमा रहेको सगरमाथाले नेपाल र नेपालीलाई संसारभरि चिनाउने काम गरेको बताए ।

कार्यक्रममा नेपाली र क्यानडाली कलाकारहरूले सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए जसले दुबै देशको समृद्ध सांस्कृतिक विरासत झल्काएको थियो ।

मुख्य आकर्षणमा नेपाली परम्परागत नृत्यहरू — कुमारी नृत्य, वज्रयोगिनी नृत्य, तामाङ नृत्य, लिम्बु नृत्य, लाखे नृत्य र क्यानडाली आदिवासी नृत्य सामेल थिए ।

कार्यक्रममा क्यानडा तथा नजिकैका अमेरिकी राज्यहरूबाट आएका प्रवासी नेपाली, नेपाली समुदायका संघसंस्था, उद्यमीहरू, समुदायका अगुवा तथा क्यानडाली नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो ।

Published : Tuesday, 2025 June 3, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया