विगतमा राजीनामा दिएका रवि-गोकुल-जनार्दन लगायतका मन्त्रीहरू के-के काण्डमा परेका थिए ?

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गरेका मुख्य सचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दामा निलम्बन हुँदा समेत राजीनामा नदिएको प्रकरण स्मरण गराएका छन् ।

मंगलबार बिहान अन्तर्वार्ताका क्रममा घिमिरेले भने, ‘बैकुण्ठ अर्याललाई प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँले नियुक्त गर्नुभयो । मुख्य सचिवमा ।’

‘पछि उहाँलाई नै अख्तियारले कारबाही गरेर मुद्दा दायर गरेर निलम्बनमा परेको होइन ? त्यो बेला प्रधानमन्त्रीले राजीनामा गर्नुभयो ?,’ प्रचण्डमाथि प्रश्न गर्दै घिमिरेले भने ।

‘सुन काण्डमा, त्यत्रो सुन बाहिरियो, भन्सारबाट । सिनामंगलमा समातियो राजस्व अनुसन्धानले अनि उहाँहरूले राजीनामा गर्नुभयो ?,’ तत्कालीन प्रधानमन्त्री प्रचण्डमाथि कांग्रेसका प्रमुख सचेतक घिमिरेले प्रश्न उठाएका छन् ।

प्रतिपक्ष दलहरूले भिजिट भिसा प्रकरणमा सहसचिवले गरेको गल्ती, कमीकमजोरीलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको विषयलाई व्यक्तिगत रुपमा उठाएको प्रमुख सचेतक घिमिरेले बताएका छन् ।

उनले भने, ‘नैतिकता के गृहमन्त्री रमेश लेखकलाई मात्रै चाहिने हो ? त्यही तीर्थ भट्टराईलाई गृहमन्त्री रमेश लेखकले कुन समयमा ? कुन कुन मन्त्रीको पालामा ? कुन कुन पदमा बस्नु भएको भन्ने कुरा पत्रकार सम्मेलन गरेर प्रष्टाइ सक्नुभयो ।’

‘गृहमन्त्रीले अहिले थपक्क लगेर राख्नुभएको हो ? उहाँ (तीर्थ भट्टराई)ले योभन्दा अगाडि सीडीओ भएर चलाइसक्नुभएको हो,’ घिमिरेले भने, ‘विभागको महानिर्देशक भएर चलाइसक्नुभएको हो । त्यो व्यक्तिलाई लगेर एउटा कार्यालयको प्रमुख बनाएको हो । आखिर सहसचिव लेबलबाटै बनाउनु पर्ने रहेछ । कसैन कसैलाई बनाउनै पर्ने थियो ।’

कांग्रेसका प्रमुख सचेतक घिमिरेले भने, ‘डा.रामशरण महतले राजीनामा दिनुभयो । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभयो । गोकुल बास्कोटाले राजीनामा गर्नुभयो । शेरबहादुर तामाङले राजीनामा गर्नुभयो । यी सबैको राजीनामाहरू मन्त्रीसँग प्रत्यक्ष जोडिएका घटनाहरू थिए ।’

‘रमेश लेखकको घटना मन्त्रीसँग जोडिएको घटना होइन नि । अहिलेसम्म अनुसन्धानले अख्तियारले त्यो कर्मचारीलाई पनि दोषी ठहराएको छैन । मुद्दा अभियोजन गरेको छैन । बयान पनि लिएको छैन । ती कर्मचारीमाथि अनुसन्धान प्रारम्भ गरेको हो । कुनै कर्मचारीमाथि अनुसन्धान प्रारम्भ गर्दैमा राजीनामा गर्ने परम्परा बसाउने हो ? राज्यसत्ता चल्छ ?,’ उनले भने ।

प्रमुख सचेतक घिमिरेले तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम ठगीमा प्रहरीमा जाहेरी परेको बताए । लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको भन्दै उनले लामिछानेको कांग्रेसले राजीनामा माग गरेको बताए ।

कांग्रेसले त्यस बेला लामिछानेको राजीनामा माग गरेको थियो । तर, लामिछानेले राजीनामा दिएनन् । जरो गाडेर बसेका थिए । लामिछानेलाई सुरुमा कांग्रेसले संसदमा बोल्न दिएको थिएन । पछि कांग्रेसले लामिछानेलाई बोल्न दिएको थियो ।

‘जनर्दन शर्माको घटना स्वयम् मन्त्रीले लगेर करका दर त्यो बेलामा अनाधिकृत व्यक्ति भित्र हुलेको भन्ने आरोप हो । डा.रामशरण महतको पालामा उहाँको विदेशमा वैदेशिक खाता छभन्ने कुरा आएको थियो । गोकुल बास्कोटाको प्रत्यक्ष (७० करोड कमिशन मागेको अडियो) जोडिएको केश थियो । शेरबहादुर तामाङको उहाँले बोलेको अभिव्यक्तिको कुरालाई लिएर थियो । यो त त्यो होइन नि ? कर्मचारीमाथि भएको अनुसन्धान हो,’ उनले भने ।

‘यो देशमा लगातार ५८ दिनसम्म संसद अबरुद्ध भएको थियो । अघ्र्यालाई गरेर कसैले निहुँ खोजेर, जबरजस्ती गरेर संसद अबरुद्ध गर्छ भने संसदीय प्रणालीलाई हामीले प्रतिपक्षको बन्धक बनायौँ । कुनै औषधि छन । सरकारले राजीनामा गर्दैन । कुनै पनि मन्त्रीले राजीनामा गर्दैन । गृहमन्त्रीको राजीनामा आउँदैन । विपक्षी दलहरूले नचाहिँदो कुरामा संसद अबरुद्ध गर्नुभएको छ,’ कांग्रेस प्रमुख सचेतक घिमिरेले भने ।

तत्कालीन समयमा गृहमन्त्री रहेका रवि लामिछानेको सहकारी ठगी प्रकरणमा कांग्रेसले राजीनामा माग गरेको थियो । त्यस बेला लेखक कांग्रेसको प्रमुख सचेतक रहेका थिए । लेखकले तत्कालीन समयमा संसदमा दिएको अभिव्यक्ति निकै चर्चित र लोकप्रिय भएको थियो । रास्वपाले लेखकको त्यो अभिव्यक्तिसँग व्यक्तिगत रिस साँधेको थियो । अहिले आएर रास्वपाले असम्बन्धित विषयमा गृहमन्त्री लेखकसँग राजीनामा माग गरेर बदला लिन खोजेको छ ।

Published : Tuesday, 2025 June 3, 10:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया