यातायात व्यवसायी र लाखौं मजदुरको पक्षमा बोल्यो कांग्रेस, सम्वादबाट समाधान निकाल्न अनुरोध

काठमाडौं । नेपाली कांग्रेसको सार्वजनिक यातायात तथा यातायात व्यवसायी समन्वय विभागले सावर्जनिक यातायात व्यवसायी महासंघ र यातायात मजदुरको संघ, संगठन लगायतको मागप्रति चासो र चिन्ता जनाएको छ ।

सोमबार विभागका प्रमुख शिवप्रसाद हुमागाईंले प्रेस विज्ञप्ति जारी गरेर व्यवसायी र मजदुरका मागप्रति कांग्रेस पार्टी प्रतिवद्ध रहेको जनाएका छन् ।

हुमागाईंले भने, ‘व्यवसायीहरूको लगानीको संरक्षणको ग्यारेण्टी र मजदुरहरूको व्यवसायिक हकहित र सामाजिक संरक्षण समेत नेपाल सरकारबाट हुनुपर्दछ भन्ने मान्यताप्रति नेपाली कांग्रेस प्रतिबद्ध छ ।’

‘सार्वजनिक यातायातमा यात्रा गर्नु हुने यात्रुहरूको कठिनाई, पिरमर्का र राष्ट्रिय परिस्थितिसमेतलाई मध्यनगर राख्दै नेपाल सरकार र आन्दोलनरत दुबै पक्षले वार्ताको माध्यमद्वारा तत्काल समस्या समाधान गर्न नेपाली कांग्रेस सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग अनुरोध गर्दछ,’ विभागका प्रमुख हुमागाईंले भने ।

विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक यातायात व्यवसायी महासंघ र यातायात मजदुरको संघ संगठनहरूले ७ बुँदे माग राख्दै मिति २०८२ जेष्ठ १६ गतेबाट गण्डकी प्रदेश र १९ गतेबाट देशभरि आह्वान गरेको सार्वजनिक यातायात बन्द कार्यक्रमको सवालमा नेपाली कांग्रेस सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सरकारको भेदभावपूर्ण व्यवहारले यातायात व्यवसायी र यातायात मजदुरहरू निकै समस्यामा छन् । उनीहरूको मागको सुनुवाई लामो समयदेखि हुन सकिरहेको छैन । यस्तो अवस्थामा राइड सेयरिङको बहानामा रातो नम्बर प्लेटका सवारीमा यात्रु तथा ढुवानीका सामग्री बोक्न दिने तयारी गण्डकी प्रदेश सरकारले गरेपछि यातायात व्यवसायी र मजदुरहरू आन्दोलनमा उत्रिन बाध्य भएका छन् ।

गण्डकी प्रदेश सरकारको निरंकुश गतिविधिले अर्बौं लगानी गरेका यातायात व्यवसायीहरू ठूलो समस्यामा पर्न लागेका छन् । लाखौं यातायात मजदुरहरू पनि समस्यामा पर्न लागेका छन् ।

Published : Monday, 2025 June 2, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया