भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई दोषी करार गरेका छैनौं : माओवादी नेता पुन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई आफूहरूले दोषी करार नगरेको बताएका छन् ।
सोमबार सिंहदरबारमा माओवादीको संसदीय दलको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पुनले गृहमन्त्री लेखकलाई अहिले नै दोषी करार नगरेको बताए । उनले पहिलेको तथ्य ल्याएर अहिले गृहमन्त्रीलाई बचाउन नहुने बताएका छन् ।
उनले भने, ‘भोलि हामी पुनः एकपटक बस्छौँ । अन्य विपक्षी दलहरूको पनि कुरा सुन्छौँ, गृहमन्त्री को तानिन्छ ? गृहसचिव या डिजीहरू या कार्यालय प्रमुख को तानिन्छ ? अनुसन्धानपछि तानिन्छ, जो तोनिए पनि तानिन्छ नि ! तर, फेरि हिजो को थियो ? अस्ति को थियो ? भन्दै त्यस्ता विषयलाई विषयान्तर गर्न मिल्दैन ।’
‘यो त आजको विषय हो नि त ! आजको तथ्य के स्थापित छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा अनियमितता भएको छ,’ उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणमा सेटिङ भएर सर्वसाधारण ठगिएको उनले बताए । साथै पहिलेको तथ्यलाई ल्याएर अहिले गृहमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने समेत उनले बताए । अहिले गृहमन्त्री लेखकमाथि प्रश्न उठेकाले राजीनामा दिएर मार्गप्रशस्त गरी अनुसन्धानमा सघाउनुपर्ने पुनले बताएका छन् ।
‘त्यहाँ सेटिङमा काम भएको छ । भिजिट भिसा प्रकरणमा हजारौँ मान्छे सेटिङमा पुर्याइएको छ, जो सेटिङमा पर्दैन त्यसलाई चाँही फिर्ता गरिएको छ, दुःख दिइएको छभन्ने तथ्य आम रुपमा स्थापित भएको छ,’ उनले भने ।
‘यो कुराको छानबिन हुनुपर्दछ । छानबिन हुनुपर्छ भन्नुको मतलब गृहमन्त्री दोषी कसैले भनेको छैन,’ माओवादी नेता पुनले भने, ‘छानबिन अगाडि उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ भन्ने माग हाम्रो दलको हो, प्रतिपक्षको हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया