गभर्नर विश्वनाथ पौडेललाई एनआरएनएको बधाई, लगानी प्रवर्द्धनमा जोड

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेललाई बधाई तथा शुभकामना दिएको छ ।
सोमबार संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको टोलीले राष्ट्र बैङ्कको बालुवाटारस्थित कार्यालय पुगेर डा.पौडेललाई बधाई दिएको हो ।
अध्यक्ष श्रेष्ठले नेपालमा आर्थिक विकासका नयाँ सम्भावना खुल्न सक्ने भन्दै एनआरएनएका तर्फबाट लगानी भित्र्याउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘गैर आवासीय नेपालीहरू विदेशमा आर्जन गरेको पुँजी, सीप र अनुभवलाई देशको विकासमा प्रयोग गर्न इच्छुक छन् ।’
‘राष्ट्र बैङ्कले नीतिगत रूपमा आवश्यक सहजीकरण गरिदिने विश्वास लिएका छौँ,’ अध्यक्ष श्रेष्ठले भने ।
अध्यक्ष श्रेष्ठले हाल विश्वका ८० भन्दा बढी देशमा फैलिएका एनआरएनहरू नेपालमा उद्योग, पर्यटन, सूचना प्रविधि, ऊर्जा, पूर्वाधार तथा वित्तीय क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए ।
यस्तो लगानी सुरक्षित, पारदर्शी र प्रतिफलमुखी हुने सुनिश्चितताका लागि राष्ट्र बैङ्कको नीतिगत स्पष्टता अपरिहार्य रहेको उनले बताए । श्रेष्ठले गत साता सार्वजनिक गरिएको नेपाल सरकारको बजेट वक्तव्यमा एनआरएनहरूप्रति लक्षित सकारात्मक निर्णयहरूको एनआरएनएले स्वागत गरेको बताएका छन् ।
नेपाली सरह एनआरएनहरूलाई पनि नेपालमा लगानी गर्ने वातावरण बनाउन आग्रह गरेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
अध्यक्ष श्रेष्ठसँगै एनआरएनए उपाध्यक्ष मनोज गोर्खाली, एनआरएनए उच्चस्तरीय समितिका सदस्यहरू विनोद कुँवर, रविना थापा, जानकी गुरुङ लगायत पुगेका थिए ।
गभर्नर डा.पौडेलले गैर आवासीय नेपालीहरूको सद्भाव र सक्रियता प्रति आभार प्रकट गर्दै राष्ट्र बैङ्क सधैँ सकारात्मक एवं सहकार्यपूर्ण भूमिकामा रहने बताए । उनले भने, ‘देशको दीर्घकालीन आर्थिक विकासमा एनआरएनहरूको योगदान उल्लेखनीय बन्न सक्छ । लगानीमैत्री वातावरण सिर्जना गर्ने दिशामा राष्ट्र बैङ्कले आवश्यक पहल गर्नेछ ।’
गभर्नर डा.पौडेलले एनआरएनएसँग नियमित संवादमार्फत नेपालमा लगानीलाई आकर्षक बनाउन उपयुक्त नीति ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
डा.पौडेलले गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी तथा व्यवसाय गर्न कुनै समस्या आएको भए त्यसमा सहजीकरण गर्न राष्ट्र बैङ्क सधैँ तयार रहेको पनि बताए ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया