यस पटक बढी वर्षा र तापक्रम हुने प्रक्षेपण भएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन सुरु हुन लागेको भन्दै बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि तत्काल पूर्वतयारीमा लाग्न सरकारलाई आग्रह गरेका छन् ।
आइतबार कांग्रेसको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस पटक बढी वर्षा र तापक्रम बढ्ने प्रक्षेपण भएको बताए । उनले त्यसबाट हुने जनधनको क्षति र संक्रामक रोगहरूबाट जोगाउन आवश्यक सतर्कता अपनाउनुपर्ने बताए ।
देउवाले भने, ‘विकास संरचना निर्माणका क्रममा वातावरणीय पक्षलाई बेवास्ता गर्नुले क्षति अझ बढेको छ । मनसुन सुरु हुन लाग्यो ।’
‘यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरूबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वसतर्कता, सतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरू तत्काल गर्न आग्रह गर्दछु,’ सभापति देउवाले भने ।
उनले अब नेपाललाई विकास निर्माण नभई दिगो विकास चाहिएको बताएका छन् । स्वच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्नु आफूहरूको कर्तव्य भएको पनि उनले बताएका छन् ।
सभापति देउवाले जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रका आधारस्तम्भहरू जस्तै कृषि, पर्यटन, जलविद्युत क्षेत्रमा गम्भीर असर पुर्याएको र यसले आर्थिक तथा सामाजिक विभेद बढाउनुका साथै अर्थतन्त्रमा जोखिम थपेको बताएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विभागका प्रमुख कल्याणकुमार गुरुङले प्राकृतिक जोखिमबाट बच्नका लागि पूर्वतयारी आवश्यक रहेको बताए । उनले कांग्रेसले प्राकृतिक विपत्तिबाट जनतालाई जोगाउन पहल र नेतृत्व लिनुपर्ने बताएका छन् ।
कार्यक्रममा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, मदन श्रेष्ठ, लक्ष्मी परियार, राधा घले, प्रतिमा गौतम, कान्तिका सेजवाल लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया